सबै उम्कलान् ?

विचार विशेष समाचार समाचार

भैरव रिसाल

काठमाडाैं, २ जेठ

सबै उम्कलान् ?
समाजवादउन्मुख गणतन्त्र स्थापना भएपछि राजनीति बिथोलियो । यो लेख्नु भनेको निर्दलीय पञ्चायत वा त्यसपछिका संसदीय प्रजातन्त्र असल थिए, उम्दा थिए भनेको कदापि होइन । समाजवादउन्मुख गणतन्त्र भन्नु नै समाजवादतर्फ चियाउनु हो । यसमा राख्ने र पार्ने कुरा हुँदैन । समाजवाद भनेको समाजवादै हो त्यो एउटै हुन्छ । तर, हामीकहाँ समाजवाद भनको बेकम्मावाद भन्ने साबित गर्न लागे गोप्य लिखत चपाएर निल्ने उपद्रयाहावादले । भुटान स्थायी बसोबास गरेका नेपालीलाई देखिसहेनन् भुटानीहरूले । मैले निकै वर्षअघि भुटान हेर्न जाँदा भुटानी नेपालीहरूको घर गोबरले लिपपोत गरी लिपेको आँगनको कुनामा तुलसीको मोठ देखेँ । त्यो पनि सिङ्गारिएको हरिबोधनी एकादशीको दिन तुलसीको मोठ विधिपूर्वक सिङ्गारिएको बारीको कान्लामा सयपत्री फूल लहरै फुलेका । कति हेरिरहुँ लाग्ने नेपालीको घर हेर्दै रमाइलो लाग्ने । त्यो वस्ती, त्यस्ता बस्ती भुटानीलाई सुन्दर सौम्य लागेनन् । भारतसँग गोप्य खुसामद गरी नेपाली मूलका भुटानीलाई लघार्न लागे । नेपाल ल्याई खसालेका ती आफ्ना जनतालाई खाल्डामा खसाली भूटान जान दिएनन् र नेपालतर्फ लघारे । यसरी भुटानी शरणार्थीको वैरो पठाएर भुटान–भारत सरकारले नेपालीको खोइरो खनेको हो । आज त्यही खराब वस्तुको अवशेष नेपालका एउटा विष भएर उक्लियो ।

यत्रतत्र सर्वत्र
यो भुटानी शरणार्थीलाई पनि ठगहरूले भाँडो बनाए । नेपालमा एउटा वर्ग जन्म्यो जो पैसा कमाउन जे जे गर्न पनि तयार छ । पैसा कसले कमाउने भन्ने बुद्धि कि दुर्बुद्धि पनि कति आएको कति ? भुटानीहरू शरणार्थीका रूपमा नेपाल वैरने, ती शरणार्थी हुने तिनलाई नेपालीले पाल्नुपर्ने, पाल्नलाई नेपालले मात्र नसक्ने, अमेरिकालगायत विकसित मुलुकहरूले पाल्नुपर्ने । यसरी शरणार्थी शिविरमा जीवन बिताउन सजिलो काम पक्कै होइन । यो कुरा गम्भीर रूपमा बुझेपछि शरणार्थीहरूको सङ्ख्या पत्ता लगाई संरा अमेरिका, क्यानडाजस्ता देशले आ–आफ्ना देशमा के कति भुटानी शरणार्थीलाई आश्रय दिन सकिन्छ भनेपछि भुटानी शरणार्थीको पुनर्वास भयो । तर जे जे बेचेर भए पनि प्रशस्त पैसा कमाउने एउटा मात्र ध्याउन्न भएका केही बदमासहरूले भुटानी शरणार्थीको नाममा लाखौँ लाख रकम तिरेर भए पनि अमेरिका जाने हुलका हुल तयार भए । त्यसरी लाखौँ लाख रूपैयाँ तिरेर अमेरिका पठाउने ठगीको एउटा धन्दा नै खडा गरे । यसबापत थुप्रो रूपैयाँ कमाउने ठाडो बदमासी सुरू भयो । यो कुकृत्य निकै वर्षदेखि सुरू भएको रहेछ । यो निम्नस्तरको ठगीमा पर्न नपर्ने धेरै मान्छे परिसके र अरू को को पर्ने हुन् स्पष्ट भइसकेको छैन । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले दुई करोड रूपैयाँ हस्तगत गरिसकेको कुराले सम्बद्ध ठाउँ डुङडुङ गन्हाएको छ । त्यस्तै पूर्वगृहमन्त्री खाण श्रीमतीले ६ करोड रूपैया थन्क्याइसकेको खबर यत्रतत्र सर्वत्र छ ।

क–कसले कति कति झिक्यो ?
भुटानी शरणार्थी काण्डमा आज मुछिएका निकै परिवारका बाबुछोरो नै परेका छन् छोराछोरी समेत डुब्ने काम के बुद्धिमानी हो ? एउटा लिखत पूर्वगृहमन्त्री बालकृष्ण खाणले पक्राउ परेकै अवस्थामा प्रहरीका हातबाट खोसेर मुखमा हाली चपाई निलिदिएछन् । पक्कै पनि मुख्य लेखापढीको दशी हुनुपर्छ । अन्यथा, त्यसरी आक्रामक तरिकाले खोसेर चपाएर निल्नुपर्ने थिएन । कतै आरजू र मञ्जुबिचको २ करोड र ६ करोड रूपैयाँको टिपोट वा बाँडफाँडको हिसाब त थिएन ? त्यो जे भए पनि सारै गम्भीर लिखत हुनुपर्छ । मन्त्रीले सरकारमार्फत भुटानी नक्कली शरणार्थीहरूको नामावली नै फेर्ने कत्रो आँट ? यो त हद नाघ्यो । भन्छन्, मान्छेहरू जुनसुकै कुराको पनि हद हुन्छ । कसैले पनि त्यो हद नाघ्नु हुँदैन । यो भुटानी नक्कली शरणार्थी काण्ड त ठाडो फटाइको माथिल्लो तहको दृष्टान्त हो । कसले कति सक्यो ? पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री टोपबहादुरका बाबु–छोरै, पूर्वगृहमन्त्री बादलका मुख्य मान्छे प्रहरी हाकिमका बाबु छोरै । कसरी सक्या होला छोरालाई समेत लिएर समुद्रमा डुब्न ¤ यसबारेमा श्रीमतीहरूसँग पनि सल्लाह भयो कि भएन ? के घर परिवारको पनि सल्लाहबाटै भएको हो ? कति कुरा परिचालित भएका होलान् यो बदमासी सोच, योजना बनाउन, कार्यान्वयन गर्न र बदमासी पनि एउटा कुरा मात्र गरेर हुने होइन केही पैसा पनि जरूरै खर्च भएका होलान् । पैसा क–कसले कहाँ कहाँबाट कति कति लियो ?

अपराधी उम्कलान् ?
जनता नेताहरूलाई आफूले सर्वश्व सुम्पन्छन् । मत दिनु भनेको सर्वस्व नै दिनु होइन र ? मत भनेको सार्वभौमसत्ता हो सार्वभौमसत्ता भनेको सर्वस्व हो । आफूउपर शासन गर भन्नु हो । मउपर शासन गर, मेरो सम्पत्तिउपर कर लगाउ भन्नु हो । तर, तपाईं नेताहरू भने आफ्ना देशवासी नागरिकहरूलाई भुटानी शरणार्थी गराएर थुप्रो थुप्रो पैसा लिएर विदेशीलाई बेच्ने ? योभन्दा ठूलो अपराध अरू के होला ? यस्तो अपराधी को–को भन्दा हिजोका उपप्रधानमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकारका बाबुछोरा नै । गृहमन्त्री, गृहसचिव, को को को को नाम र ओहदा भन्न पनि शर्म लाग्ने । अझ पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ बारे प्रमाण खोजिँदै छ रे ? केही प्रमाण नभेट्टाई यसरी नाम सार्वजनिक हुन नपर्ने ¤ मलाई एउटा कुरा राम्ररी सम्झना छ । कृष्ण बम मल्ल सचिव थिए । ल्हासास्थित नेपाली वाणिज्य दूतसहितको ठूलो टोली निकै सुन र अन्य बहुमूल्य वस्तु तस्करी गरी ल्याएको मुद्दा प¥यो । तब कृष्ण बम मल्ल भन्नुहुन्थ्यो । धेरै जनाविरूद्ध मुद्दा प¥यो सबै अपराधी उम्कन्छन् । मलाई पूरा सम्झना छ, त्यो मुद्दामा एक जना ड्रात्रलाई सजाय भयो । अरू सबै चोखा निस्के । कतै त्यस्तै त हुने होइन यो नक्कली भुटानी शरणार्थी मुद्दामा पनि भन्ने लाग्न लागेको छ । बरू सबै अपराधी एकै छिममा नपरून् । तर, विभिन्न बहानामा सबै अपराधी न उम्कुन् ल्हासा सुन काण्डझैँ लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *