निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त भए जनताको जीवनस्तर उठ्ने

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १५ माघ

 

निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त भए जनताको जीवनस्तर उठ्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शिक्षामा पुर्‍याएको योगदानको सकारात्मक परिणाम २०–३० वर्षमात्र देखिने हुँदा धैर्यको आवश्यकता हुने विचार व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार स्थानीय लिशा इङ्गलिस सेकेन्डरी स्कूलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा व्यक्त गर्नुभएको हो ।

तुलनात्मकरूपमा भक्तपुर सुरक्षित र शान्त भएकाले शैक्षिक गन्तव्यको रूपमा उन्मुख भइरहेको चर्चा गर्दै उहाँले अगाडि भन्नुभयो– “मावि तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गरेर सरकारले सम्पूर्ण दायित्व बहन गरेको भए जनताको जीवनस्तर नै उठ्ने थियो । त्यस्तै स्वास्थ्योपचार पनि निःशुल्क गर्नुपर्थ्याे । यसले जनताको खर्च बच्थ्यो । तर, अहिलेको पुँजीवादी सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क गर्दैन ।”

तल्लो तहदेखि नै विद्यार्थीलाई नक्सासहित स्थानीयदेखि देश विदेशको भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषयमा बुझाउन शिक्षकहरूलाई सुझाव दिँदै उहाँले यो देशका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेतलाई एसियाली मुलुक कम्बोडियाको बारेमा जानकारी नभएको लज्जाजनक स्थिति आफूले देखेको एक उदाहरण दिनुभयो ।

असल शिक्षकले मात्र असल जनशक्ति उत्पादन गर्न सक्ने कुरामा जोड दिँदै उहाँले कतिपय अभिभावकहरूले आफ्ना सन्तानलाई राजनीति नसिकाउन भनी गलत आग्रह गर्छन्† जबकि राजनीति नसुध्रिकन देश नसुध्रिने कुरा शिक्षकले अभिभावकलाई सम्झाउन आवश्यक रहेको बताउनुभयो ।

चीनमा कुल जनसङ्ख्याको एकतिहाइ विद्यार्थी हुन्छन् तर यहाँ कुल जनसङ्ख्याको आधा आधी नै विद्यार्थी रहेका छन् भन्दै उहाँले यो सकारात्मक छ भन्नुभयो ।

नयाँ पुस्तलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी ज्येष्ठ नागरिकको सेवा गर्न सिकाउनुपर्ने, नर्सिङ सेवालाई अझ व्यापक गर्नुपर्ने र आदर निकेतनको उचित व्यवस्थाले भक्तपुर थप उत्कृष्ट हुनेमा आफू विश्वस्त रहेको भन्दै उहाँले शिक्षालाई जोड नदिई देश अघि नबढ्ने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षण पेशाप्रति सरकारको तुच्छ दृष्टिकोण रहेको चर्चा गर्दै देशको कुल बजेटको न्यूनतम २४ प्रतिशत शिक्षामा लगानी गरे मावि तहसम्म पूर्ण निःशुल्क गर्न सकिन्थ्यो तर यहाँ सरकारले १०–११ प्रतिशतमात्र लगानी गरेर बाँकी अभिभावकको थाप्लामा पारेको तथ्य प्रस्ट पार्नुभयो ।

सामुदायिक स्कूलमै पनि पर्याप्त शिक्षक दरबन्दी नदिँदा निजी स्रोतबाट शिक्षक राख्न रकम उठाउन बाध्य पारेको भन्दै उहाँले ६२ हजारभन्दा बढी शिक्षक खाँचो एक सरकारी कार्य दलको प्रतिवेदन छ भन्नुभयो ।

कार्यक्रममा भनपा ९ नं का वडाध्यक्ष रवीन्द्र ज्याख्वले लिवाली क्षेत्रमा शिशु स्याहारदेखि कलेजसम्म विभिन्न १४ ओटा शैक्षिक संस्थाहरू रहेको र ती सबैमा अध्ययनरत विद्यार्थीहरू दसौँ हजार रहेको हुँदा यसलाई शैक्षिक केन्द्रकै रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीलाई लिवालीमै रहेका परम्परागत काष्ठ उद्योग, माटाका भाँडा बनाउने ज्यासल, जुजु धौ बनाउने स्थलहरूको प्रत्यक्ष अवलोकन गराए सिकाइ दिगो हुनुका साथै विद्यार्थीहरूमा श्रमप्रति सम्मान र आदरभाव जाग्ने र ‘ख्वपको पहिचान’ स्थानीय पाठ्यक्रमको उद्देश्य सार्थक हुने बताउनुभयो । उहाँले नयाँ पुस्तामा बढ्दो धूमपान, मद्यपान र साइवर अपराधप्रति भने अभिभावकहरू सचेत हुनुपर्ने पनि विशेष जोड दिनुभयो ।

प्रिन्सिपल लिशा प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा इसानका अध्यक्ष प्रेमजन थापाले सामुदायिक र संस्थागत स्कूललाई सँगसँगै लानुपर्ने आजको आवश्यकता हो तर सरकारले निजी स्कूलहरूमाथि विभेद गर्नु खेदजनक छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्कूलका पूर्वप्रिन्सिपल शिव श्रेष्ठ, विद्यार्थीद्वय प्रतीक बम्जन र तेजश्वी मानन्धरले पनि बोल्नुभएको थियो ।

प्रमुख अतिथि बिजुक्छेँले नवनिर्मित ब्लकको मूल गेटको रिवन काटेर तथा भने ताम्रपत्र खोलेर भवन उद्घाटन गर्नुभएको थियो । समारोहलाई थप उत्सवमय बनाउन रङ्गीचङ्गी बेलुनको झुप्पा उडाइएको थियो भने बाँसुरी, मादल र धिमाय् बाजाको धुनले समारोह अझ रोचक बनाइएको थियो ।
समारोहमा २०७६, २०७७ र २०७८ सालका प्रि स्कूल दीक्षान्तका साथै विविध विषयमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीका विविध सांस्कृतिक प्रतिभाहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *