बाँकेमा कुष्ठरोग निवारणमा चुनौती 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

बाँके, ७ माघ

बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्न थालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ। एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ।

आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए। उनका अनुसार, पहिचान भएकामध्ये ६१ जना बाँकेका छन्। अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन्। नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेका उनले बताए। बाँके र बर्दियाका दुई÷दुईजना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ।

आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारुले बताए। गत आर्थिक वर्षमा बर्दिया र बाँकेका तीन ठाउँमा राखिएको शिविरमा पाँच हजार पाँच सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए। साथै आव २०७८÷७९ मा १५ हजार पाँच सय ८२ जना बिरामीले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएपनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताए।

“पाँच वर्षसम्म कुनैपनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको  पुष्टि गर्छ,” उनले भने।

उहाँले कुष्ठरोग निवारणको लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताए। पछिल्लो समय बालबालिकामा पनि सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णप्रसाद आचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *