सर्भरमा समस्या आएपछि देशभरका अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावित  

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २८ फागुन

स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आइतबार बिहान करिब तीन घण्टा सेवा प्रभावित भएको छ। गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) मा प्राविधिक समस्या आएपछि बिमा लागू भएका अस्पतालहरुमा सेवा प्रभावित भएको हो।

करिब तीन घण्टा सेवा प्रभावित हुँदा बिमा अन्तर्गत सेवा लिन जाने बिरामीहरु बञ्चित भएका थिए। बिहान ७ बजेदेखि बन्द भएको बिमाको सेवा ११ बजेदेखि पुनः सुचारु भएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बताए।

उनले भने, ‘बिहान ७ बजेदेखि जीआईडीसीमा समस्या आएको थियो। अहिले समस्या समाधन भइसक्यो। सेवा सञ्चालनमा आइसकेको छ।’

निर्देशक बसौलाले सेवा सुरु भएको बताए पनि सबै अस्पतालहरुमा भने सेवा सुरु भइसकेको छैन। देशको पुरानो अस्पताल वीरमा भने अहिले पनि बिमाको सर्भरमा समस्या आएको छ। वीरमा अहिले पनि बिमाको सेवा अवरुद्ध छ। त्रिवि शिक्षण अस्पतालले पनि बिहान सर्भरमा समस्या आएको भन्दै समस्या समाधान नहुँदासम्म सेवा अवरुद्ध हुने सूचना निकालेको थियो।

चितवनस्थित भरतपुर अस्पतालले भने सर्भरमा समस्या आएपनि सेवा अवरुद्ध गरेन। आइतबार बिरामीको भीड धेरै हुने भएकाले सर्भरमा समस्या आएपनि सेवा नरोकेको स्वास्थ्य बिमा कार्यक्रमका फोकल पर्सन लीला पौडेलले बताए।

‘बिहानदेखि सर्भर चलेको थिएन। तर बिरामीको भीड थेग्न नसक्ने थियो। उनीहरुलाई फिर्ता पठाउन पनि मिलेन त्यसैले हामीले अफलाइनमै भएपनि सबैलाई सेवा दियौँ।’ उनले भने।
अस्पतालका मेडिकल सुपरिण्टेन्ड प्राडा कृष्णप्रसाद पौडेलले जोखिम मोलेर भएपनि सेवा दिनुपर्छ भनेपछि सर्भरमा समस्या आएपनि बिरालाई फिर्ता नपठाइएको उनले बताए।

‘नवीकरण नगरेका, एक्टिभ र जीरो ब्यालेन्स भएका बिरामीले पनि सेवा लिएका रहेछन भने हामीले बीमा बोर्डमा रकमको लागि दाबी गर्न पाउँदैनौ। उनले भने, ‘मेसुले त्यस्तो अवस्थामा अस्पताल आफैँले बेहोर्छ तर बिरामीलाई फिर्ता पठाउनु हुँदैन भनेपछि सेवा दिएका हौँ।’
आज मात्रै १ हजार १६ जनाले स्वास्थ्य बिमा मार्फत भरतपुर अस्पतालबाट सेवा लिएको पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *