अध्यक्ष बिजुक्छेँद्वारा चियाङ चमिनको निधनमा राष्ट्राध्यक्ष सीलाई समवेदना सन्देश

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २० मंसिर

अध्यक्ष बिजुक्छेँद्वारा चियाङ चमिनको निधनमा राष्ट्राध्यक्ष सीलाई समवेदना सन्देश

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव एवं जनगणतन्त्र चीनका पूर्वराष्ट्राध्यक्ष कमरेड चियाङ चमिनको दुःखद निधन भएकोमा चिकपाका वर्तमान महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई एक सन्देश पठाई नेमकिपा र नेपाली जनताको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
चीनका पूर्वराष्ट्राध्यक्ष चियाङको नोभेम्बर ३०, २०२२ का दिन ९६ वर्षको उमेरमा निधन भएको हो ।
सन्देशमा अध्यक्ष बिजुक्छेँले अगाडि उल्लेख गर्नुभएको छ, “हामी गौरवपूर्वक कमरेड चियाङ चमिनलाई एक प्रतिभाशाली नेता, कम्युनिस्ट योद्धा र सच्चा माक्र्सवादीको रूपमा सम्झना गर्दछौँ । उहाँले आफ्नो जीवनकाल र कार्यकालमा समाजवादको निर्माण, चीनलाई एकताबद्ध राष्ट्र बनाउन तथा वैचारिक, सांस्कृतिक र प्राविधिकरूपमा आधुनिक समाजवादी देश बनाउन गर्नुभएको ठूलो योगदानलाई चिनियाँ जनताले सधैँ आफ्नो मनमस्तिष्कमा राख्नेछन् । कमरेड चियाङको ७० वर्ष लामो क्रान्तिकारी सङ्घर्ष सबैका लागि र अझ विशेषगरी नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको छ । उहाँ कम्युनिस्ट आदर्शप्रति निष्ठावान रहनुभयो, पार्टीप्रति बफादार रहनुभयो र पार्टी तथा जनताको लक्ष्यप्रति अटलरूपमा प्रतिबद्ध रहनुभयो ।”
“नेपाली जनताले कमरेड चियाङलाई एक सच्चा मित्र र नेपालको एक सच्चा शुभचिन्तकको रूपमा सम्झना गर्दछन् । उहाँले दुई देश र जनताबिचको मित्रता बलियो पार्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो र प्राचीनकालदेखि नेपालको सच्चा मित्र र छिमेकीको रूपमा रहेको चीन र नेपालबिचको सहयोगात्मक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुभयो ।”
“कमरेड चियाङको निधनको दुःखद घडीमा नेपाल मजदुर किसान पार्टी शोकसन्तप्त परिवारजनमा र चिनियाँ कम्युनिस्ट पार्टीका समस्त कमरेडहरूमा हार्दिक समवेदना प्रकट गर्दछ । नेपाली जनताको तर्फबाट हामी दिवङ्गत कमरेड चियाङ चमिनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकसन्तप्त परिवार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनता शीघ्र नै शोकलाई शक्तिमा बदल्न सफल हुने विश्वास व्यक्त गर्दछौंँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *