नेमकिपा निर्वाचन परिचालन समिति, सूर्यमढी गठन

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ११ कात्तिक


नेपाल मजदुर किसान पार्टी सूर्यमढी एकाइ समितिको आयोजनामा बिहिबार वृहत भेला गरी दिलभक्त कोजूको संयोजकत्वमा ८० सदस्यीय निर्वाचन परिचालन समिति, सूर्यमढी गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चुनावले जनतालाई राजनीतिक रुपमा सचेत पार्ने भएकाले एक विश्वविद्यालयको काम यसले गर्ने बताए । उनले नेमकिपाको घोषणापत्रबारे जनतालाई सचेत पार्दैजानुपर्ने बताए । उनले नेमकिपालाई बढी भोट आए मात्रै देश र जनताले जित्ने अन्यताथ हार्ने स्पष्ट पारे । राजनीतिक रुपमा सचेत पार्नकै लागि देशव्यापी रुपमा उम्मेदवार खडा गरेको बताउँदै उनले नागरिकता विधेयक, एमसीसी, एसपीपी लगायतका देशघाटी कदमको नेमकिपाले मात्र विरोध गरिएको औंल्याए ।

आयोजक समितिका अध्यक्ष दिलभक्त कोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले पद र सरकारी सेवा सुविधाको भागबण्डाकै निम्ति शासक पार्टीहरु हानठाप गरिरहेको स्पष्ट पार्दै देशभक्तिपूर्ण आन्दोलनमा नेमकिपा बाहेक अरु कोही नआएको बताए । उनले पूजीवादको छायाँ भ्रष्टाचार भएको बताउँदै नेमकिपाले सडक र सदनमार्फत त्यसको विरुद्ध संघर्ष गरिरहेको औंल्याए । सिद्धान्तहिन गठबन्धनले नैतिक बल नदिने स्पष्ट पार्दै प्रदेश र प्रतिनिधिसभाका हरेक राजनीतिक मुद्दा नेमकिपाकै लाइनमा आउन शासक दल बाध्य भएको उनको ठहर छ ।

नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्ण गोविन्द लाखाले जनतासँग नजिक भएर राजनीतिक चेतनास्तर वृद्धि गरी मत लिनुपर्ने बताए । नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शासक दलहरु राजनीतिक सिद्धान्तमा विचलित भएकै कारण कम्युनिष्ट भनाउँदा पार्टीले कम्युनिष्ट संस्कार नै त्याग गरेको स्पष्ट पारे । उनले देश र जनताको हक स्थापित गर्न नभई कुर्सी लेनदेनको गठबन्धन भएको बताए ।

नेमकिपा ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुले सबै मतदातालाई राम्रोसँग मतदान गर्न सिकाउनुपर्ने बताउँदै उनले एउटा मात्र मत अन्य दललाई परे देशमा अहिलेको भन्दा बढी संकट आउने औंल्याए ।

उक्त भेलाले निर्वाचन परिचालन समितिको सचिवमा प्रेम प्रजापति, कोषाध्यक्षमा बी. प्रजापतिलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *