ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङको नयाँ भर्ना खुल्ने

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ भदौ


भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थीहरूको भर्ना सम्बन्धी बुझ्न सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसँग भेट गरेको छ ।

भेटमा प्रमुख प्रजापतिले सरकारलाई बलियो बनाइ शिक्षा, स्वास्थ्य, सरसफाइ र पूर्वाधार विकास गर्दै जनताको जीवनस्तर उकास्न भक्तपुर नगरपालिका निरन्तर लागिपरेको जानकारी गराउँदै कर्मचारीहरूको तर्फबाट यस्तो कार्यमा सकारात्मक योगदान हुनुपर्नेमा जोड दिए ।

प्रमुख प्रजापतिले गत वर्ष नर्सिङ क्याम्पसमा नयाँ विद्यार्थी भर्ना गर्न आफ्नै १०० शैय्याको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था भएकोले नयाँ विद्यार्थी भर्ना गर्न नसकेको चर्चा गर्दै उनले यस वर्ष मिति २०७९ जेठ २६ गते बागमती प्रदेश सरकारबाट १०० शैय्याको अस्पताल सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि नयाँ नर्सिङका विद्यार्थीहरू भर्ना गर्न प्रक्रिया अगाडि बढाइएकोमा विभिन्न प्रक्रियागत झन्झटले ढिलो भइरहेकोमा उपाध्यक्ष अधिकारीको ध्यानाकर्षण गर्दै शीघ्र भर्ना प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

दक्ष जनशक्ति उत्पादन गरी देशको विकासमा योगदान दिने उद्देश्यका साथ भक्तपुर नपाले सञ्चालित सातवटा शैक्षिक संस्थाहरूबाट नेपालको ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गरिरहेको प्रमुख प्रजापतिले जानकारी गराए । भेटमा नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको शैक्षिक स्तर उदाहरणीय रुपमा उत्कृष्ट रहेको चर्चा गर्दै उपाध्यक्ष अधिकारीले स्थानीय तहबाट शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका आधारभूत सेवाहरू प्रदान गरी भक्तपुर नपाले देशकै उत्कृष्ट नपाको रुपमा कार्य भइरहेको सर्वविदित्तै रहेको स्मरण गरे । उनले सम्बन्धित पक्षहरूसँग छलफल गरी आजै नर्सिङ कलेज पुनः सञ्चालनको लागि निरीक्षण गराई भोलिसम्ममा भर्ना प्रक्रिया अगाडि बढाउन सीटीईभीटीको वेभसाइटमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई पनि समावेश गरी सक्ने आश्वासन दिए ।

भेटमा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, सीटीईभीटीका परीक्षा शाखाका प्रमुख, प्रशासन प्रमुखलगायत सम्बन्धित शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *