भक्तपुर बचतको आ.व. २०७८/०७९ को वासलात ३ अर्ब ४४ करोड ७९ लाख

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ भदौ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०७८÷०७९ को वासलात ३ अर्ब ४४ करोड ७९ लाख पुगेको छ । त्यसमध्ये संस्थाको कूल बचत २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ, ऋण लगानी २ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ, शेयर पूँजी १५ करोड ५ लाख रुपैयाँ रहेकोमा संस्थाको तरलता भने कूल बचतमा १४.२५ प्रतिशतको दरमा ४० करोड २६ लाख रुपैयाँ रहेको छ । उक्त आ.व. जम्मा ८ हजार ४६ जना सदस्य संख्या रहेको छ । शनिवार सम्पन्न संस्थाको वार्षिक समीक्षा कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमितिका सदस्य तथा कर्मचारीबीच उक्त जानकारी दिएको हो ।

समीक्षा कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालले राम्रो र सत्य मनले काम गरे संस्था सफल र सबल हुने बताए । उनले कुनै गल्ती हुँदा ध्वंसात्मक नभइ राय सुझाव दिने गरी आलोचना गर्नु उपयुक्त हुने जानकारी दिए । साथै समीक्षा कार्यक्रममा समूहगत प्रस्तुति भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु उत्तम हुने बताउँदै उनले सबैले निस्वार्थ भावनाले काम गर्नुपर्ने स्पष्ट पारे ।

संस्थाका समिति, उपसमिति तथा कर्मचारीहरुले आर्थिक पक्षसँगै देशको राजनीतिक पक्षबारे जानकारी लिइराख्नुपर्ने बताए । भारतले सिक्किम र फिजीलाई आफ्नो कब्जामा पार्नका लागि गरिएका सुत्र अहिले नेपालमा प्रयोग गरिरहेकोबारे सचेत हुनुपर्ने बताउनको धारणा छ ।

संस्थाका सदस्य जगनाथ प्रजापतिले संस्थाको वासलात तथा आर्थिक पक्ष, व्यवस्थापक सत्यनारायण साँयजूले संस्थाका प्रगति तथा गतिविधिबारे जानकारी भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापति, सदस्य रामेश्वरी कोजूले पनि बोलेको थियो ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा समूहगत छलफलबाट आर्थिक पक्षबारे जयराम कोजू, सामाजिक पक्षबारे चन्द्रलक्ष्मी दुवाल, प्रशासनिक पक्षबारे तुल्सीराम प्रजापति, व्यवस्थापन पक्षबारे निरञ्जन प्रजापति, सदस्य सेवा सुविधाबारे रीता दुवालले प्रस्तुतीकरण गरेको थियो । कार्यक्रममा यही असोज ८ गते संस्थाकै प्राङ्गणमा २५औं वार्षिक साधारणसभा हुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *