काठमाडौंबासीको बालेन्द्रप्रति ठूलो विश्वास

कला/साहित्य पर्यटन विचार विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ जेठ

मलाई काठमाडौँ महानगरवासीले मत दिएर र देशभरका नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकासँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ ।

शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ ।प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ । यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ ।कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं । काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ । यसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् । उदाहरण भक्तपुरलाई लिन सकिन्छ । भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहाँको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ । प्रत्येक व्यक्ति यहाँको कला, संस्कृति र इतिहासका बारेमा जानकार हुनुपर्छ ।यसअघिका पाठ्यक्रमले धेरै कुरा समेट्न सकेको छैन । लिखित रुपमा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । यहाँको कला संस्कृति, सांस्कृतिक वैभवका बारेमा बुझ्न धेरै पुस्तक छन् । तर त्यो विषयलाई व्याख्या गर्नसक्ने जनशक्ति छैनन् । प्राविधिक रुपमा पनि शिक्षाको गुणस्तर बढाउने योजना अगाडि सारेका छौँ । मोबाइलमा ‘भिडियो च्याट’ गरेर मात्र अनलाइन कक्षा हुँदैन, यसले शैक्षिक स्तर बढाउँदैन । प्रविधि तीव्ररुपमा परिवर्तन भइरहेको छ ।

‘थ्रिडी भिजुअलाइज’मार्फत उदाहरण देखाउँदै पढाउन थालियो भने विद्यार्थीले सजिलै बुझ्न सक्छन् । अहिले शिक्षा भार जस्तो भएको छ । विद्यालय जान गाहे मान्ने अवस्थाको अन्त्य गरी रमाइलो तरिकाले हाँस्दै खेल्दै सिक्ने वातावरण बनाउने हो । साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ । कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । त्यसलाई मर्ज गराएर त्यहाँका विद्यार्थी र शिक्षकलाई व्यवस्थापन गर्न सक्छौँ । सामुदायिक विद्यालयको जथाभावी मर्ज गर्‍यौं भने निजी विद्यालयलाई प्रश्रय दिएको जस्तो हुन्छ तर आवश्यकताका आधारमा मात्रै मर्ज गर्छौं । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो ।

मोबाइल र प्रविधि विद्यार्थीले किन्ने होइन, त्यो विद्यालयले उपलब्ध गराउँछ । १ देखि १० कक्षासम्म नै ‘थ्रिडी भिजुअलाइज’ गर्ने भनेको होइन । सुरुमा १० कक्षालाई मात्र सकिएला । १० कक्षासम्म आइपुग्दा उनीहरु प्रविधिमैत्री भइसकेका हुन्छन् । विद्यार्थीलाई आउँदैन, सक्दैन भनेको त्यो विद्यार्थीको कमजोरी होइन, त्यो शिक्षकको गल्ती हो ।विद्यार्थीले ‘होमवर्क’ गरेन, विद्यार्थी बिग्रियो, समयमा विद्यालय आएन, परीक्षामा उत्तीर्ण हुन सकेन भने त्यो शिक्षकको गल्ती हो । यसमा विद्यार्थी र अभिभावको कुनै दोष हुँदैन । विद्यालय, विद्यालयको संस्कार र शिक्षक सुधारिनुपर्छ । विद्यार्थी असफल भएको अवस्थामा शिक्षकले सजाय भोगेको उदाहरण नेपालमै पनि प्रशस्त छन् । यो झट्ट सुन्दा गलत जस्तो लाग्छ । सुरुआती क्षणमा विद्यार्थीको गल्ती देखाउँदा विद्यार्थीको मनोबल घट्छ । यसले शैक्षिक गुणस्तर बढ्दैन ।सबै नराम्रो पक्ष विद्यार्थीलाई थुपारिदिने, अभिभावकलाई गाली गर्ने काम गलत हो । बिहानदेखि साँझसम्म बालिबालिका विद्यालयमा हुन्छन्, विद्यार्थीले केही गल्ती गरेको अवस्थामा अभिभावकलाई दोष देखाउन पाइन्छ ? विस्तारै यसलाई संस्कारका रुपमा विकास गरेर लैजानुपर्छ । गुरु र शिष्यको सम्बन्ध कस्तो हुनुपर्छ, कसरी बोल्ने, व्यवहार गर्ने भन्नेबारेमा जानकारी दिनुपर्छ । शिक्षा संस्कारबाट सुरु हुनुपर्छ । हामी महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम भोलिबाट नै हुन्छन् ।पहिलो कुरा आम मानिसको मनोविज्ञान शैक्षिक पूर्वाधार नै पहिलो शर्त हो भन्नेछ । अभिभावका तर्फबाट विद्यालयमा लिफ्ट छ कि छैन भन्ने हेर्ने हुन्छ । तर लिफ्टले पढाइलाई कुनै सहयोग गर्दैन । त्यो कुरालाई विस्तारै परिवर्तन गर्दै लैजान्छौँ । विद्यालयको शौचालय, बगैँचामा निकै सुधार गर्न सक्छौँ । कक्षाकोठा र शौचालय अपाङ्गमैत्री बनाउन सकिन्छ । छात्राका लागि आवश्यक सेनेटरी प्याडलगायतको व्यवस्था गर्न सकिन्छ । आन्तरिक सजावट तथा व्यवहारको दृष्टिकोणबाट कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बसौँबसौँ, पढौँपढौँ लाग्ने बनाउन सकिन्छ । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं ।महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ । वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा छ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ । यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ । यस्तै पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्छ ।

 

नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गर्छौं । उद्यानमा पुगेर शारीरिक अभ्यास गर्न सकिन्छ । शारीरिक सक्रियतामार्फत रक्तचाप र मधुमेह नियन्त्रणमा लिन सहयोग पुग्छ भनेर चिकित्सकहरुको भनाइ छ । उद्यानमा बिहान बेलुकी हिँड्न, कुद्न पायो भने निश्चिय नै त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यससँगै सरकारी अस्पतालमा सुविधा बढाउने योजना अगाडि सारेको छु । विशेषज्ञ चिकित्सक यहाँ काम नपाएर विदेशिने अवस्था छ ।त्यसलाई रोक्न के कस्ता सुविधा दिने भन्ने बारेमा छलफल गर्नुपर्छ । ‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएर उहाँहरुलाई अतिरिक्त आम्दानीको वातावरण बनाउन सकिन्छ । सम्पत्ति कर र घरबहाल कर तिर्दा त्यसको केही अंश स्वास्थ्य बीमाको ‘प्रिमियम’का रुपमा लिने र त्यसबाट स्वास्थ्य सुविधा दिन सकिन्छ । त्यसो गर्दा नागरिकलाई कर तिरौँतिरौँ पनि लाग्ने र स्वास्थ्य सुविधा पनि लिने वातावरण बनाउछौँ । यसले महानगरवासीलाई कर तिर्न अभिप्रेरित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *