स्यार्पूताल छेउमा हेलिप्याड निर्माण

अर्थ/वाणिज्य विज्ञान/प्रविधि विशेष समाचार समाचार

रुकुम, ५ माघ


स्यार्पूताल छेउमा हेलिप्याड निर्माण गरिएको छ । रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका –३ स्यार्पूतालको छेउमा हेलिप्याड निर्माण गरिएको हो । बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणको सहकार्यमा हेलिप्याड निर्माण गरिएको छ ।
सबैखाले विपदको समयमा आकस्मिक उद्दार कार्यको सहजताका लागि हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निर्माण सम्पन्न भएसँगै औपचारिक कार्यक्रमका बीच नेपाली सेनाले उक्त हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
हेलिप्याड निर्माणका लागि गाउँपालिकाले निर्माण सामग्री खरीद गरेको र नेपाली सेनाले इन्जिनीयरिङ तथा ज्यामीको काम गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिएका छन् ।
उनले भने, ‘विपद व्यवस्थापन र उद्दारका लागि हेलिप्याड आवश्यक देखिएकोले नेपाली सेनाको सल्ले स्थित नरसिंह दल गणसँगको समन्वयमा यो काम गरियो ।’
विशेषगरी जटिल प्रकृतिका प्रसूति सम्बन्धीका बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा एम १७ हेलिकोप्टर ल्यान्ड हुनेखालको हेलिप्याड बनेकाले सहज हुने अपेक्षा गरिएको अध्यक्ष केसीको भनाइ छ । यसका साथै स्यार्पूतालमा हेलिकप्टर लिएर आउने विशिष्ट व्यक्तिहरुका लागि समेत अवतरण गर्न सहज हुने भएको छ ।
करिब तीनलाख रुपैयाँ बराबरको सामग्री र दैनिक ५० जनाका दरले सातदिनको श्रमदानपछि हेलिप्याड निर्माण भएको नरसिंह दल गणका गणपति दिनेश गौतमले जानकारी दिए ।
दैवी प्रकोप, उद्दार, राहत तथा खोज कार्यका लागि हेलिप्याडको उपयोगिता हुने उनको भनाइ छ । नेपाली सेनाले विभिन्न समयमा यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धीका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।
स्यार्पूताल छेउमा हेलिप्याड निर्माण भएपछि स्थानीय खुसी भएका छन् । स्थानीय गोपाल विकले भने स्यार्पूतालको छेउमा हेलिप्याड निर्माण भएपछि विरामीको उद्दार तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *