भक्तपुर, १ माघ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघको २९औं तथा महिला उद्यमी समितिको २७ औं वार्षिक साधारणसभाको उद्घाटन सोमबार भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले नेपाल सरकारको उद्योग नीति आलोचनायोग्य भएको बताउँदै नेपाली कर प्रणाली प्रगतिशील हुनुपर्नेमा जोड दिए । विदेशी पूँजीको पैसाले चुनाव जितेका दलले विदेशीकै हितमा काम गर्ने र ऐन–कानुन पनि तिनीहरुकै पक्षमा बनाउने उनले बताए ।
भारतीय पुँजीपति वर्गको पक्षपोषण गर्ने सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताउँदै अध्यक्ष बिजुक्छेँले नेपाल–चीनबीचको व्यापारिक सम्बन्धलाई कमजोर बनाउने ढंगले अहिलेको सरकार लागिपरेको बताए ।
कुनै पनि व्यापारीले आफ्नो व्यक्तिगत फाइदालाई भन्दा पनि देशको व्यापारको हितमा पनि सोच्नुपर्ने औंल्याउँदै उनले व्यापारीहरु देशको राजनीतिक अवस्थाबारे जानकारी हुनुपर्ने बताए । नेपाली सामान प्रयोग र प्रवद्र्धन गर्न नेपालीहरु नै अग्रसर हुनुपर्ने बताउँदै नेता बिजुक्छेँले नेपाल सरकारले साना उद्योग जोगाउनुुपर्नेमा जोड दिए ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उद्योगधन्दाको विकास देश विकासको प्रमुख आधार भएको बताउँदै भक्तपुर नगरपालिकाले घरेलु उद्यमीहरुलाई उत्साहित पार्न यहाँका मौलिक उत्पादन ताईचीन चिउरा, जुजु धौ, हाकुपटासी र भादगाउँले टोपीलाई भक्तपुरको मौलिक उत्पादनको रुपमा परिभाषित गरेको बताए ।
भक्तपुरको मौलिकता विदेशी बजारमा प्रचार गर्न भक्तपुर घरेलु तथा साना उद्योग संघले पर्यटन क्षेत्रमा आफ्नो लगानी बढाउन आह्वान गर्दै प्रमुख प्रजापतिले भने, ‘सरकारले देशमा सञ्चालित उद्योगहरुको संरक्षणको लागि सस्तो ब्याज दरमा ऋण प्रवाह गर्नुपर्ने र विदेशी वस्तुहरुमा कर बढाउने, नेपालभित्र रहेका बैंक तथा सहकारी संस्थाहरुको पूँजी उत्पादनशील क्षेत्रमा लगानीगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुपर्छ ।’
भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डेले नेपालमा घरेलु उद्योगको प्रवद्र्धन आवश्यकताबारे प्रस्ट पार्दै कला,संस्कृतिले भरिपूर्ण भक्तपुरको मौलिक उत्पादनलाई गुणस्तरीय बनाउँदै यसको संरक्षण, संवर्दन र प्रवर्धन गर्नुपर्ने खाँचो औंल्याए ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जतिले लघु घरेलु तथा साना उद्योगको विकास विना देश विकास सम्भव नभएको र नेपाल सरकारले पूँजीको लागि बैंकमार्फत घरेलु उद्यमीहरुलाई सहज ऋण उपलब्ध गराउनु आवश्यक भएको बताए ।
कार्यक्रममा प्रभु लाइफ इन्सुरेन्स, प्रदेश नं. ३ का प्रमुख प्रबन्धक सागर केसी, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धर, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष सत्यनारायण प्रजापति, महिला उद्यमी समितिका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले संस्थामा अनवरत रुपमा कार्यरत कर्मचारी तथा सहयोगी संघ–संस्थाहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।