ऐतिहासिक भैरवनाथ मन्दिर पुनर्निर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

अर्थ/वाणिज्य कला/साहित्य पर्यटन विशेष समाचार समाचार

भक्तपुर, १ माघ


२०७२ सालको भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम मंगलबार भक्तपुरको टौमढीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सोही समारोहमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णोद्धार २०७६’ र ‘भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी प्राविधिक नक्सा डिजाइन संग्रह’ पुस्तक सार्वजनिक गरेको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको कला–संस्कृति नै नेपालीहरूको सम्पत्ति भएको हुँदा यसको संरक्षण जगेर्ना गर्नु नेपालीहरूको कर्तव्य भएको बताए । निःस्वार्थ रुपले सम्पन्न हुने कामको महत्वबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले सम्पदा पुनर्निर्माण कार्यको व्यवस्थित दस्ताबेजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।


मन्दिर पुनर्निर्माणका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरू, प्राविधिक, डकर्मी, चन्दा दाता तथा सम्पूर्ण सहयोगीहरू धन्यवादका पात्र भएको बताउँदै उनले आगामी दिनहरूमा पनि भक्तपुर नगरपालिकाले जनताको व्यापक सहभागितामा आफ्ना विकास निर्माणका कार्यहरूलाई अगाडि बढाउनु उपयुक्त हुने बताए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले २०७२ सालमा नेपालमा गएको भूकम्पले विश्व सम्पदा क्षेत्रमा सूचीकृत धेरै सम्पदा र निजी आवासहरूमा क्षति पु¥याएको तथ्यांक प्रस्तुत गर्दै भूकम्प पीडितलाई दिइँदै आएको रु. ३ लाख अनुदान अपुग भएको बताए । सरकारले भूकम्प पीडितको लागि विशेष योजना बनाएर सहयोग रकम थप गर्नुपर्ने र समयअवधि पनि बढाउनुपर्छ भन्दै सांसद सुवालले भैरवनाथ मन्दिरको पुनर्निर्माण भक्तपुर नपाले दुईपटक गरिसकेको अवगत गराए ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भैरवनाथ मन्दिर जीर्णोद्धार निर्देशक समिति, उपभोक्ता समिति, अनुगमन समिति, प्राविधिक समितिमा बसेर सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्णमा धन्यवाद दिए ।
भैरवनाथ मन्दिर २०७५ साल असोज ३ गतेबाट जीर्णोद्धार सुरु भई २०७६ साल असारमा सम्पन्न भएको अवगत गराउँदै प्रमुख प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई व्यावहारिक कार्यान्वयनको पक्षमा नगरपालिका निरन्तर लागिपरेको बताए ।
भक्तपुर नगरपालिकाले नेपालकै अग्लो पाँचतले मन्दिरको पुनर्निर्माण कार्यको थालनी पनि गरिसकेको बताउँदै उनले पाँचतले मन्दिर जीर्णोद्धारको लागि आर्थिक र भौतिक सहयोगको लागि सभामार्फत् आह्वान गरे ।


नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले काठमाडौं उपत्यकाको सौन्दर्य र कला–संस्कृति जोगाउन उपत्यकाभन्दा बाहिरका सहरहरूमा नयाँ बस्ती विकास गर्नुपर्नेमा जोड दिँदै शासक दल काठमाडौं केन्द्रित सोच र मानसिकताबाट टाढा रहनुपर्ने बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको कला र संस्कृतिलाई हरसम्भव जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा अगाडि बढिरहेको बताउँदै भक्तपुरका मौलिक वस्तुहरूलाई प्रवद्र्धन गर्न प्रयासरत रहेको बताए ।
भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डेले कला–संस्कृति र मौलिकताले भरिएको भक्तपुरका सम्पदाहरूबाट आफू निकै प्रभावित भएको बताउँदै ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरूको पुनर्निर्माण मौलिक शैलीमा नै गर्नुपर्नेमा जोड दिए । उनले मन्दिरका मूर्तिहरूमा रसायनयुक्त रंगको प्रयोगलाई निरुत्साहित गर्दै यसको मौलिक संरक्षण जोडाइराख्न सक्ने बताए ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुर नपाले भैरवनाथ मन्दिरलगायतका यहाँका महत्वपूर्ण सम्पदाहरू पुनर्निर्माण गरी उल्लेखनीय कार्य गरिरहेको चर्चा गर्दै भक्तपुरमा भएका विकास निर्माणका कार्य देशैभरि चर्चाको विषय बनिरहेको उल्लेख गरे ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भैरवनाथ मन्दिरको ऐतिहासिक पक्षबारे प्रस्ट पार्दै भक्तपुरमा सम्पदाहरूको जीर्णोद्धार, पुनर्निर्माण, संरक्षण र संवद्र्धन गर्ने कार्यमा, लोपोन्मुख एवम् लोप भइसकेका भौतिक एवम् अभौतिक सम्पदाहरूलाई भक्तपुर नपाले सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख मोहनसिं लामाले भैरवनाथ मन्दिर विज्ञहरूको राय–सुझावको आधारमा कम लागत र निर्धारित समयमा जीर्णोद्धार सम्पन्न हुनु सकारात्मक पक्ष रहेको बताए ।


भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेको उक्त कार्यक्रममा भैरवनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनर्निर्माणको आय–व्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा भैरवनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भैरवनाथ मन्दिर जीर्णोद्धारको क्रममा संकलित आर्थिक सहयोग रकम रु. ५ लाख १६ हजार ९५८ रुपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गरे ।
भैरवनाथ मन्दिर पुनर्निर्माण कार्यको आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधि, गुठी संस्थानका प्रमुख आनन्दप्रसाद कर्माचार्य, संस्कृतिविद्, विज्ञ तथा प्राविधिक टोली, उपभोक्ता समितिका पदाधिकारीहरू, कर्मचारी तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *