कर्मचारीलाई काम गर्न नदिई ठेक्का

विशेष समाचार शिक्षा समाचार

काठमाडौं २४ पुस


जनक शिक्षा सामग्री संस्था लिमिटेडले भएका कर्मचारीलाई काम दिनुको साटो ठेकेदार खोजेर छपाइको काम सुम्पिने गरेको छ। तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेको हो।

नेपाल समाचारपत्रमा जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय शीर्षकमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार अघिल्ला प्रबन्ध सञ्चालकले सरकारले मेसिन किन्न बजेट उपलब्ध नगराएका कारण मेसिन नै ठेक्कामा लिएर केन्द्रमै छपाइको काम गरेको थियो। हाल आवश्यक पर्ने सम्पूर्ण मेसिन उपलब्ध हुँदाहुँदै कर्मचारीलाई काम नदिई केठेदारलाई दिने गरिएको छ।

केन्द्रले बोर्डको निर्णय भन्दै हचुवाको भरमा टेन्डरमार्फत ठेक्का दिएपछि कर्मचारी चरम मारमा परेका छन्। ‘ठेक्कामा दिएर समयमै किताब पुर्‍याउने दाबी गरेको जनक शिक्षाले यो वर्ष समयमा काम सक्ने सम्भावना भने छैन।’ –एक पुराना कर्मचारीले नेपाल समाचारपत्रलाई भने।
‘केन्द्रका प्रबन्ध सञ्चालक तिमिल्सिनाले मन्त्रीलाई काम देखाउन आफ्ना कर्मचारीलाई काम गर्न नदिई ठेक्का दिएको’ कर्मचारीको आरोप छ। अधिकांश कर्मचारीले सिजनमा ओभरटाइमको व्यवस्था गर्न माग गर्दासमेत प्रबन्ध सञ्चालकले इन्कार गर्ने गरेको स्रोतको भनाइ छ।

‘अहिले अधिकांश प्रेसका कर्मचारीलाई सात घन्टा मात्र काम दिइएको छ।

सिजनमा केही रकम कमाएर घर खर्च टार्ने योजनामा रहेका हामी कर्मचारी मारमा परेका छौं।’ –ती कर्मचारीले भने। जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले ठेक्कामा नदिए समयमै पाठ्यपुस्तक पुर्‍याउन समस्या पर्ने भएकाले प्रक्रिया पुर्‍याएर ठेक्कामा दिएको बताए ।

तर, अधिकांश कर्मचारीले प्रक्रिया पुर्‍याएपछि कर्मचारीको ओभरटाइम खोस्न नमिल्ने बताएका छन्। केन्द्रले प्रेस शाखामा काम गर्ने अधिकांश कर्मचारीलाई सुरक्षण मुद्रणालयमा खटाएको छ।
तिमल्सिनाले महाप्रबन्धकको जिम्मेवारी लिएपछि करिब चारवटा चार कलरको मेसिन खरिद गरिसकेको छ। केन्द्रले भने ठेकेदारको सिफारिशमा नयाँ मेशिन ल्याउने र ठेकेदारकलाई जिम्मा दिने गरेको छ।

यद्यपि प्रवक्ता आचार्यले ठेक्कामा दिएकै कारण समयमै पाठ्यपुस्तक पुग्नेगरेको दाबी गरेको छ। तर आफ्ना कर्मचारीलाई २४ घण्टै खटाउँदा पाठ्यपुस्तक छपाई गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा मूल्याङ्कन गरिएको छैन।

उनले भने, प्राविधिक कर्मचारीको चरम अभाव र वरिष्ठ कर्मचारी नभएका कारण प्रेसको काम ठेकेदारलाई दिएका हौं। केन्द्रका अनुसार हाल करिब दुई सय ५० को हाराहारीमा प्रेसमा काम गर्ने कर्मचारी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *