पर्यटकको तथ्यांक पर्यटन मन्त्रालयसँगै छैन

पर्यटन विशेष समाचार समाचार

धनगढी, २४ पुस


नेपाल भ्रमण वर्ष २०२० सुरु भएको एक साताभन्दा बढि समय भइसकेको छ । तर भ्रमण वर्षले सुदूरपश्चिमलाई अझै छुन सकेको छैन् । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक भव्य कार्यक्रमका बीच भ्रमण वर्ष २०२० को शुभारम्भ भएको जानकारी गराएको समय पनि ९ दिन भइसकेको अवस्थामा समेत प्रदेशबासीले न त वाह्य पर्यटक आगमनको अनुभुति गर्न पाएका छन न त आन्तरिकको नै ।
भ्रमण वर्ष शुभारम्भयता आन्तरिक तथा वाह्य पर्यटकको आगमन के कति भयो भन्ने विषयमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय नै अनविज्ञ रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकास विना अहिले नै तेस्रो मुलुकबाट पर्यटक आगमन बढाउने विषय त्यति सहज नभएको निजी क्षेत्रको भनाई छ । यो प्रदेशसँग भारतका ठुलठुला सहरहरु जोडिएका छन, भारतीयहरुलाई जबसम्म पर्यटकको रुपमा हामीले स्वीकार गर्दैनौँ तवसम्म पर्यटन व्यवसायबाट यो क्षेत्रले लाभ लिन सक्दैन, नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन सेती अञ्चल संयोजक गोपाल हमालले बताए । हामीले गोरो छालाको मोह त्याग गरेर भारतीयहरुलाई पर्यटकको रुपमा स्वागत गर्न सके मात्र यहाँको पर्यटन व्यवसायले उचाई लिने पर्यटन व्यवसायी प्रकाश भट्ट बताउँछन् ।
भ्रमण वर्ष २०२० का लागि भन्दै संघीय सरकारबाट २५ लाख तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २० लाख गरी ४५ लाखको बजेट रहेपनि वर्षभरी गरिने पर्यटन प्रवद्र्धनका कार्यक्रम एकदिने औपचारिक उद्घाटन कार्यक्रममा मात्र सिमित बन्न पुगेको हो । भ्रमण वर्ष सुरु भएयता प्रदेशभित्र के कति वाह्य तथा आन्तरिक पर्यटक आगमन भए आफुहरुलाई कुनै जानकारी नभएको प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन शाखाका शाखा प्रमुख भोजराज पाठकले बताए ।
मन्त्रालयले छुट्टै पर्यटक आगमनको तथ्यांक राख्ने गरी कुनै व्यवस्था गरेको छैन, होटल, ट्राफिक र कैलालीको गौरीफन्टा तथा कञ्चनपुरको गड्डाचौकीमा राखिएका अध्यागमन कार्यालयहरुलाई सुचना उपलब्धका लागि अनुरोध गरेको उनले बताए । संघ र प्रदेशको पर्यटन मन्त्रालयले विनियोजन गरेको बजेट कहाँ कसरी खर्च गर्ने विषय पनि अन्यौलमा देखिएको छ । दुई दर्जन भन्दा बढि निजी क्षेत्रबाट भ्रमण वर्ष २०२० का लागि सदस्यमा छनौट गरिएपनि उपलब्धि अपेक्षाकृत रुपमा देखिनेमा मन्त्रालय नै विस्वस्त देखिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *