ख्वप इन्जिनियरिङ कलेजमा प्रा.डा. मोहनमूर्ति पन्तलाई बिदाई कार्यक्रम

विशेष समाचार समाचार

भक्तपुर,२२ साउन


भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार ख्वप इन्जिनियरिङ कलेजबाट अवकाश पाएका प्रा.डा. मोहनमूर्ति पन्तलाई दोसल्ला ओढाई र कदरपत्र प्रदान गर्नुभई बिदाई गरे।
२०६५ साल जेठ १२ गतेदेखि सेवारत प्रा.डा. पन्तले उमेर हदका कारण २०७६ साल साउन २२ गते कलेजबाट अवकाश प्राप्त गरेको थियो ।

बिदाई कार्यक्रममा प्रमुख प्रजापतिले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्न प्रा.डा. पन्तले पुर्याएको योगदान र मिहिनेतबारे चर्चा गर्दै अवकाश भनेको औपचारिकता मात्र भएको र राम्रो काम गर्नेले समाजमा कामअनुसारको सम्मान र इज्जत पाउने बताए ।

उनले विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधारहरु तयार हुँदा पनि ख्वप विश्वविद्यालयले सम्बन्ध नपाउनुमा सरकारको नगरपालिकाप्रति पूर्वाग्राही सोच र पक्षपातपूर्ण व्यवहार भएको बताए।
संसारका प्र्रविधिहरुको विकास मानिसबाटै सम्भव भएको बताउँदै उनले नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको भक्तपुर नगरपालिकाले अध्ययन–अनुसन्धानको निम्ति छुट्टै बजेट छुट्याएको बताए ।

कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले आगामी दिनहरुमा पनि प्रा.डा. पन्तले ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक र व्यवस्थापकीय भूमिका खेल्नेमा विश्वास व्यक्त गर्दै विभिन्न विषयका अनुसन्धानकर्ता तयार गर्न ख्वप इन्जिनियरिङ कलेजले खेलेको भूमिकाबारे चर्चा गरे।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नगरपालिकाद्वारा सञ्चालित कलेज स्थापनाका उद्देश्यबारे प्रस्ट पार्दै भक्तपुरका जनताले देखेको सपना पूरा गर्न इन्जिनियरिङ कलेज र त्यहाँ अध्यापनरत शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा प्रा.डा. मोहनमूर्ति पन्तले आफ्नो अवकाश जीवनलाई अझ सक्रिय र क्रियाशील ढंगले सदुपयोग गर्ने र नयाँ पुस्तालाई मार्गनिर्देशकको भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य रबिन्द्र फोँजु र ख्वप कलेज अफ इ. कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोलेको थियो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका विभागीय प्रमुखहरु राजुभाइ त्यात, सुनयना कर्माचार्य, लिबास फैजु, नवराज बुढाथोकी, गजेन्द्रभक्त सुवाल, रीना मानन्धर, अमितशंकर रञ्जित, गणेशराम ध्वजु, काजीबहादुर पञ्च, राजन जति, जसतारा कोजु र रिजिना बज्राचार्यले अवकाश प्राप्त प्राध्यापक पन्तले कलेजमा पुर्याएको योगदानबारे चर्चा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *