हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण 

विशेष समाचार समाचार
भक्तपुर, २० साउन
भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा हनुमानघाट परिसर तथा हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगरका विभिन्न ठाउँहरुमा वृक्षारोपण, सरसफाइका साथै कौसी खेतीलगायतका तालिमहरु पनि सञ्चालन गरिरहेको बताए ।
श्रमदानबाट सम्पन्न हुने विकास निर्माणका कामहरु सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अरबौं रुपैयाँ खर्च गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा लागु नभएको बताए ।
भक्तपुरलाई सुन्दर बनाउने अभियानमा नगरबासीहरुको साथ र सहयोग आवश्यक भएको बताउँँदै उनले नगरपालिकाले नगरबासीहरुमा श्रमदान गर्ने भावना विकास गर्ने हिसाबले काम गर्दै आएको बताए ।
वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले नगरलाई सुन्दर, सफा र स्वच्छ पार्ने अभियानमा लागेको बताउँदै नयाँ र पुरानो पुस्ता मिलेर पर्यावरणीय र वातावरणीय हिसाबले बस्न योग्य ठाउँको रुपमा विकास गर्ने उद्देश्य रहेको बताए ।
भक्तपुर नगरभित्र वनको अभाव रहेको उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले सहरी वनको आवश्यकता र सहरी क्षेत्रमा रुख रोप्दाका फाइदाहरुबारे प्रस्ट पारे । सहरी सुन्दरता बढाउन र अक्सिजनको माग पूर्ति गर्न वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले आफूले रोपेको विरुवालाई आफैले संरक्षण गर्ने बानी विकास गर्न आग्रह गरे ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले अक्सिजनको माग पूर्ति गर्नुका साथै ध्वनि र वायु प्रदूषण रोक्न वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा वडा सदस्य हरिरत्न गोर्खाली, नेमकिपा वडा नं. ७ का कृष्णगोविन्द लाखाजु र बलराम गोसाइँले वृक्षारोपणको महत्वबारे प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *