ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा शिक्षक–कर्मचारी भेला

समाचार
भक्तपुर, १९ साउन
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मानिस सामाजिक प्राणी भएका कारण सामाजिक कर्तव्य पूरा गर्नु नागरिकको दायित्व हो भने ।
ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा भएको शिक्षक–कर्मचारी भेलामा शिक्षक–कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारीका अलावा समाजको परिवर्तित स्थितिलाई समेत बुझेर काम गरेको खण्डमा समस्याहरु कम हुने बताए । प्रजग कोरियामा १ सय ११ जनाका लागि १ जना डाक्टर उपलब्ध भएको प्रसंग स्मरण गर्दै कम शुल्कमा मेडिकल शिक्षा प्रदान गर्ने ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनुमा सत्तासीन दलको स्वार्थ र पक्षपातपूर्ण व्यवहार रहेको बताए ।
ख्वप नामक शैक्षिक संस्थाहरुको स्थापनाका लागि विगतमा गर्नुपरेको संघर्षको बारेमा बोल्दै शिक्षक–कर्मचारीहरुले आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्ने बताए । शिक्षक–कर्मचारीहरुलाई इमानदार हुनुका साथै संघर्षशील भावनाबाट पनि अगाडि बढ्न प्रेरित गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् संस्थान सञ्चालक समिति अध्यक्ष सुनिल प्रजापतिले शिक्षक–कर्मचारीहरु अरुको तुलनामा अब्बल हुनुपर्ने साथै सांगठनिक नैतिकतालाई भुल्न नहुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा भएको अनियमितताको प्रसंग उल्लेख गर्दै श्रमदानको भावनालाई जीवितै राख्नुपर्ने बताए । सम्पूर्ण पूर्वाधार भएको ख्वप विश्वविद्यालय सञ्चालनका लागि आनाकानी गरेजस्तै विभिन्न बहानामा हाल पनि ख्वप नामक संस्थाहरुलाई समय–समयमा दुःख दिइरहेकोले यसविरुद्ध लड्न पनि सम्पूर्ण शिक्षक–कर्मचारीहरुलाई प्रेरित गरे ।
संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको सो भेलामा शिक्षक–कर्मचारीहरुले आ–आफ्नो विचार व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *