जिल्लामा जताततै कर्मचारी अभाव

समाचार

भोजपुर, ३० जेठ


जिल्ला प्रशासन देखि स्थानीय सरकारको तल्लो निकायसम्म कर्मचारी अभाव हुदा दैनिक सेवा प्रवाहमा समस्या भएको छ जसको कारण सामाजिक सुरक्षा भत्ता तथा सरकारले प्रधान गर्ने अन्य सेवासुविधा लिन समेत जनताले सास्ती भोग्नु परेको छ । लोकसेवाबाट आएका कर्मचारी सुगम खोज्दै हिँड्न थालेपछि कर्मचारी अभाव बढेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरमा दरबन्दी अनुसारका पर्याप्त कर्मचारी नहुँदा बाँकी कर्मचारीलाई भार परेको छ । कर्मचारी नहुँदा दैनिक ३० देखि ४० को हाराहारीमा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राही मारमा पर्ने गरेका छन् ।
दुई दिन पैदल धाएर राहदानी बनाउन पुगेका उत्तरी साल्पासिलिछो गाउँपालिका– ४ खाटम्माका प्रसान राईले पालो कुर्दै दिन गएको गुनासो गरे । ‘सदरमुकामसम्म आउनु नै यति कष्ट, त्योमाथि कार्यालयमा कर्मचारी नहुँदा पालो पर्खनुपर्ने’, उनले भने, ‘एकछिनको कामका लागि दुई दिन कुर्नु प¥यो ।’
सदरमुकाम धाउँदाको कष्टकर यात्रा, होटलमा महँगो पैसा तिरेर बस्नुपर्ने बाध्यता छ ग्रामीण भेगका सेवाग्राहीलाई । साल्पासिलिछो, आमचोक र हतुवागढी गाउँपालिकाका दुर्गम भेगका सेवाग्राहीलाई नागरिकता र राहदानी बनाउन हप्ता बित्छ । ‘एउटा नागरिकता बनाउन झन्डै एक हप्तै लाग्छ । यहाँ होटल, लजमा बस्दा उत्तिकै खर्च हुन्छ’, रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका महेश गेलालले भने ।
२३ दरबन्दी रहेको जिल्ला प्रशासनमा अहिले ३ अधिकृत, २ नासु, २ खरिदार, १ कम्प्युटर अपरेटरबाहेक अन्य पद रिक्त छन् । कर्मचारी पदपूर्तिका लागि मन्त्रालयबाटै पठाउन नसक्नाले कर्मचारीलाई दोहोरो मार परेको कार्यालयका नायब सुब्बा मख्खन श्रेष्ठले बताए । उनी भन्छन् ‘मन्त्रालयले कर्मचारी पठाउँदैन । कर्मचारी पनि काजसरुवा मिलाएर सुविधा सम्पन्न, घर पायक ठाउँमा जान्छन् । अहिले कामको भार पहिलेभन्दा दोब्बर थपिएको छ ।’
सबैभन्दा बढी कर्मचारी अभाव झेलिरहेको भोजपुरको दक्षिणी आमचोक गाउँपालिका करिब डेढ महिनादेखि वडासचिव विहीन छ । तत्कालका लागि अहेबलाई नै दोहोरो जिम्मेवारी दिएर वडासचिवको काम हेर्न लगाइएको छ । वडासचिव नहुँदा अहेबलाई नै काममा खटाउन बाध्य भएको गाउँपालिका प्रमख अशोक राईले बताए ।
स्थानीय सरकार बनेपछि सुरुमा ६ जना वडासचिवमध्ये ४ जना सरुवा मिलाएर र बाँकी २ जना सचिव पनि समायोजनपछि डेढ महिनाअघि सरुवा भएपछि सिंगो गाउँपालिका वडासचिव विहीन भएको हो । कर्मचारीका लागि केन्द्र सरकारसम्म पहल भइरहे पनि अहिलेसम्म सम्बोधन हुन नसकेको अध्यक्ष राईले बताए । उनले भने, ‘सचिव नहुँदा जनताको काम एकदमै प्रभावित भएको छ । वडामा पञ्जीकरण, बसाइँ सराइलगायतका कामको विकल्प खोज्न बाध्य छौं ।’

जिल्लाका ९ वटै स्थानीय तहका अधिकांश वडाहरुमा सचिव नहुँदा दैनिक कार्यसम्पादनमा समस्या छ । टेम्केमैयुङ गाउँपालिकाको ४ र ५ वडा, षडानन्द नगरपालिकाको १, ६ र ७ वडा, १३ र १४ वडा, ४ र ५, २ र ३ वडा, साल्पासिलिछो गाउँपालिकाको १ र २ वडा, हतुवागढी गाउँपालिकाको ३ र ४ वडा, ५ र ६ वडा, ७ र ८ वडा, पौवादुङ्मा गाउँपालिकाको २ र ३ वडा, रामप्रसाद राई गाउँपालिकाको ४ र ५ वडा, ७ र ८ वडामा एक जना वडासचिवको भरमा काम चलिरहेको छ ।
सदरमुकामै रहेको भोजपुर नगरपालिकामा पनि १२ वडामध्ये ६ वडा एक सचिवले धानिरहेका छन् । केही महिना अघि मात्र ११ र ९ को सचिव सरुवा भएकाले तत्काल कर्मचारी नियुक्ति नहुँदा दैनिकजसो ६ वडाको काममा मार परेको वडासचिव मणि राईले बताए । उनले भने, ‘मन्त्रालयबाटै सिफारिस गरी नपठाउँदा यो झमेला भएको हो । आवश्यकता हेरी कर्मचारी नखटाइँदा दैनिक कार्यसम्पादन गर्न समस्या भएको छ ।’
यस्तै पश्चिमी टेम्केमैयुङ गाउँपालिकाको ६, ७, ८ र ९ वडाको काम केही वर्षअघिबाटै एउटै वडासचिवको भरमा काम चलिरहेको छ । दुर्गममा कर्मचारी नपठाइँदा कार्यभार बढेको वडासचिव तोयाराज दुलालले बताए । ‘गाउँपालिकाले पनि जिल्ला प्राविधिक, सिडिओमार्फत मन्त्रालयसम्म पनि कर्मचारी नियुक्तिको माग त गरेकै हो तर पठाएनन्’ उनले भने, ‘सामाजिक परिचालकको सहयोगमा चार/चार वडाको काम दुःखसुख चलाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *