सांगठानिक सिद्धान्त र विचारले मात्र आमूल परिवर्तन सम्भव

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ पुस


सिद्धान्त र विचारविनाका पार्टीले देश र जनताका लागि केही पनि गर्न सक्दैन । यिनीहरुको सांगठानिक स्वरुप नै जनतालाई थर्काएर, त्रास दिएर बनाएकाले दिगो हुन सक्दैन । सांगठानिक सिद्धान्त र विचारले मात्र आमूल परिवर्तन सम्भव तुल्याउँछ ।

नेपाल मजदुर किसान पार्टी, ९ वडा सूर्यमढी एकाईको आयोजनामा भएको १३० औं माओत्सेतुङ र १४५ औ स्तालिनको जन्म जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले उक्त कुरा बताएको हो ।


उनले ‘उदारवादको विरोध गर’ भन्ने रातो कितावको मूल कुरालाई लागु गर्नुपर्ने र आलोचना आत्मालोचना सधै भैरहनुपर्नेमा जोड दिए । साथै संगठन र विचार भनेकै अक्सिजन प्लान्ट भएको बताउँदै उनले हरेक व्यक्तिलाई विचारबाटै सुसूचित गर्नुपर्ने अन्यथा ठूला पार्टीजस्तै अपराधिहरुको झुन्ड मात्र हुने स्पष्ट पारे । उनले माओको दूरदर्शी विचारकै कारण हालको चीन बनेको र जस्तोसुकै अमेरिकी जालले पनि चीनलाई हल्लाउन नसकेको बताए । अमेरिकाले रसिया र चीनलाई आक्रमण गर्न युक्रेनलाई उपयोग गरी ‘प्रोक्सिवार’ गरिरहेको संकेत गर्दै विज्ञान, प्रविधि र आविष्कारमा चीन कहिल्यै पछि नपरेको उनको भनाइ छ । उनले स्टालिनले सोभियत रुस र माओले चीनलाई समाजवादी व्यवस्थाको निरन्तरताका लागि गरेको संघर्षबाट हामीले सिक्नुपर्ने बताए ।

कार्यक्रममा भनपा ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले वडाका गतिविधिबारे जानकारी दिँदै नगर स्वास्थ्य केन्द्रको शुक्रबार विहान ९ वडा कार्यालयमै उद्घाटन हुने बताए । त्यस्तै वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले उदारवाद र समाजवादलाई सँगसँगै लाने विभिन्न पार्टीका कदम गलत भएको स्पष्ट पार्दै कम्युनिष्ट सिद्धान्त नमान्ने नेपालका कम्युनिष्ट पार्टीहरुले जनतालाई धोखा दिएको बताए । उनले किसानको पक्षमा माओले काम गरेकै कारण लामो हिडाइँमा किसानले साथ दिएको बताउँदै जनताको निरन्तर सेवा गर्न प्रेरित गरेको बताए ।


आयोजक समितिका अध्यक्ष दिलभक्त कोजुले सशस्त्र संघर्षविना समाजवादी व्यवस्था स्थापना गर्न नसक्ने औल्याउँदै संघर्षमा लाग्न विचारबाट सचेत र संगठित गर्नुको विकल्प नभएको बताए । उनले माओ र स्तालिनको योगदानको चर्चा गर्दै अधिकांश पूँजीवादी देशमा जनताको आधारभूत आवश्यकता नै पूरा गर्न नसकेको बताए ।

कार्यक्रममा उपाध्यक्ष काशिलाल प्रजापति र प्रेम प्रजापतिले माओ र स्तालिनबाट सिक्नुपर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *