चार महीनायताकै उच्च कारोबार, कम पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २८ जेठ

Image Not Found

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । कारोबार रकम चार महीनायताकै उच्च छ । गत माघ २९ गते रू. ३ अर्ब ४ करोड बराबर शेयर कारोबार भएकोमा त्यसपछि जेठ २८ गते आइतवार रू. ३ अर्ब ४५ करोड बराबर कारोबार भएको हो । पछिल्ला केही दिनयता लगानीकर्ताले शेयर बजारमा सक्रियता बढाउन थालेको देखिन्छ ।

कर विवाद सुल्झिएसँगै उनीहरू बजारप्रति सकारात्मक देखिएका हुन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । फलस्वरूप ब्याजदर पनि घट्दो छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

यति बेला अर्थतन्त्रका बाह्य क्षेत्रहरूमा सुधार हुँदै गएको रिपोर्ट राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यसले पनि लगानीकर्ताको मनोबल थप बढाउन सक्ने देखिन्छ । लामो समयदेखि घटेको बजारमा बियरिस ट्रेण्ड सकिएको जानकारहरू बताउँछन् । शेयर बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको अवस्थासहित कम्पनीको समग्र पक्ष हेरेर लगानी गर्नुपर्ने विश्लेषकहरू बताउँछन् ।

आइतवार नेप्से परिसूचक २ दशमलव शून्य ९ प्रतिशत अर्थात् ४० दशमलव ४८ अंक बढेर १ हजार ९८० दशमलव शून्य ९ विन्दुमा पुगेको छ । यस दिन २७५ धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता ६१ हजार ४५० पटकमा रू. ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको हो ।

आइतवार भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४५ दशमलव ३० कायम भएको छ । दोस्रोमा सिटी होटलको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १२२ दशमलव २० पुगेको छ ।

आइतवार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव ८३ प्रतिशत घटेर रू. ८ दशमलव ७९ कायम भएको हो । दोस्रोमा मेगा म्युचुअल फण्ड १ को इकाई मूल्य २ दशमलव ५३ प्रतिशत घटेर रू. ७ दशमलव ३२ मा झरेको छ ।

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नागरिक लगानी कोषले ओगटेको छ । कोषको रू. ११ करोड ४७ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक दोस्रोमा शिवम् सिमेन्ट्सको रू. १० करोड ८७ लाख बराबर कारोबार भएको हो ।

आइतवार १३ ओटै समूहगत परिसूचक समग्र बढेका छन् । वित्त समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । लगानी समूहको ५ दशमलव ११ प्रतिशत र विकास बैंक समूहको परिसूचक ४ दशमलव ६६ प्रतिशत वृद्धि भएका छन् । बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा पर्ने भएकाले यी समूहको परिसूचक बढेको देखिन्छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६७, फ्लोट इन्डेक्स १ दशमलव ८९ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७१ प्रतिशत वृद्धि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *