सेवा निवृत्त शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ कात्तिक


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरले प्रकाशन गरेको ‘शैक्षिक अनुभव’ पूर्णाक १३ को बिमोचन गरेको छ ।

दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सेवा निवृत्त भएका शिक्षकहरुले अध्ययन र लेखन कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

पुर्खाको अनुभवले नयाँ पुस्ता पुस्तालाई ऊर्जा प्राप्त हुने बताउँदै उनले सेवा निवृत्त शिक्षकहरुले अझ आफूलाई राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील बनाइराख्नुपर्नेमा जोड दिए । आफ्नो जीवनलाई शिथिल नबनाई अझ सक्रिय जीवनयापन गर्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु नेपालको संविधान र संघीयताको मर्मविपरीत भएको बताउँदै सरकारले बजेटमा निजी कलेजहरुमाथि नियन्त्रण गर्ने कुनै प्रावधान उल्लेख नगर्दा निजी कलेजहरुले स्वेच्छाचारी ढंगले अभिभावकहरुसँग रकम असुलिरहेको उनको भनाइ छ ।

कुनै पनि संस्था आर्थिक रुपले सबल भएर मात्र नपुग्ने बताउँदै उनले संस्था सञ्चालक र व्यवस्थापकहरु सक्षम र इमानदार हुनुपर्ने बताए । भक्तपुर नपाले ८ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी धेरै विषयमा स्नातकोत्तर तहसम्मको विषय अध्ययन अध्यापन गराउँदै आएको बताउँदै शासक दलहरुले विभिन्न बहानामा अहिलेसम्म ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाइएको उल्लेख गरे । भक्तपुर नपाले विद्यालयहरुमा समय समयमा अनुगमन, शिक्षक तालिम, अनुदान सहयोग, भौतिक पूर्वाधार निर्माणजस्ता विषयमा जोड दिएको कारण नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु स्वतःस्फूर्त रुपमा राम्रो हुँदै आएको बताए ।

बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले सेवा निवृत्त शिक्षकहरु देशको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक परिवर्तनका जिउँदा इतिहासका साक्षीको रुपमा रहेको बताउँदै नयाँ पुस्ताको लागि उनीहरु प्रेरणाका स्रोत रहेको बताए ।

त्यस्तै एभरेष्ट इ. स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले सेवा निवृत्त शिक्षकहरु समाजका स्रोतव्यक्तिको रुपमा रहेको बताउँदै समाजले आगामी दिनहरुमा पनि विद्यार्थी केन्द्रित विविध गतिविधिहरुको आयोजना हुने विश्वास व्यक्त गरे ।

शैक्षिक अनुभव पुस्तकका प्रधान सम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै पुस्तकमा सेवा निवृत्त शिक्षकहरुका गहकिला, प्रेरणादायी र पठनीय संस्मरण तथा लेखहरु रहेको बताए ।

सेवा निवृत्त शिक्षक समाज भक्तपुरका उपाध्यक्ष रामगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष विश्वराम कवांले स्वागत मन्तव्य राखेको थियो भने सदस्य तुल्सीराम ग्वाछाले समाज स्थापनाका उद्देश्यहरुबारे आफ्नो धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *