शोभा प्रधानको प्रथम स्मृतिसभामा ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक

राजनीति विशेष समाचार समाचार

प्रेम प्रजापति
भक्तपुर, ८ असार


गत असार ८ गते क्यान्सरबाट निधन भएकी नेपाल मजदुर किसान पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)की पत्नी शोभा प्रधानको प्रथम स्मृतिसभा शुक्रबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेँले नेपाल क्रान्तिकारी महिला संघबाट प्रकाशित ‘स्मृतिमा कामरेड शोभा’ पुस्तक सार्वजनिक गरेको छ ।

नेपाल क्रान्तिकारी महिला संघ केन्द्रीय समितिको आयोजनामा भएको उक्त स्मृतिसभामा प्रमुख अतिथि विजुक्छेँले आफ्नोभन्दा बहुमत जनताको दुःखमा साथ दिनुपर्ने बताए । साथै मानिस स्वस्थ छँदै जे गर्नुपर्ने हो गरिसक्नुपर्ने अन्यथा उमेरले नभ्याएपछि, रोधव्याधीबाट पीडित भैसकेपछि गर्न बाँकी काम सम्झेर नहुने उनको तर्क छ । उनले बहुसंख्यक जनताको लागि राम्रो काम गरे आफू पनि राम्रो हुने बताए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले शोभा भाउजु वागीश्वरीमा स्थानान्तरण भैसकेपछिको जीवनीलाई सम्झना गर्दै उनको हरेक पलले विद्यालयको प्रगतिमा योगदान पुगेको बताए । उनले शोभा प्रधानको योगदानको सबैले सिको गर्नुपर्ने औंंल्याए ।

शिक्षक योगेन्द्रमान विजुक्छेँले मानवीयता, नम्रता र सहृदयता शोभा भाउजुबाट सिक्नुपर्ने पाठ औंल्याउँदै उनको व्यक्तित्वको प्रभावकै कारण भाउजुप्रतिको सदभाव बढेको सम्झन्छन् । उनले शोभा भाउजु परिवारसँग पनि मिलनसार भई काम गर्ने व्यक्तित्व भएको बताउँछन् ।

स्रस्ता समाजका सदस्य सुशिला कर्माचार्यले शोभा भाउजुसँगको १५ वर्ष सँगै बस्दा हिद्दाको कुरा स्मरण गर्दै भाउजुको हरेक पक्षको विश्लेषण गरे । उनले घरायसी, व्यावहारिकता, सांस्कृतिक पक्ष, स्वास्थ्य सचेतना, कुशल राजनीतिक नेतृ, सक्षम, असल र उदाहरणीय शिक्षिकाको भूमिकामा कर्तव्य निर्वाह गरेकोबारे सकारात्मक सोच प्रकट गरे ।

आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नर्स चन्चला प्रधान, कमलमैया सुवाल, सुलोचना छ्वाजुलगायतले भाउजुलाई सम्झना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *