समाजसेवी र संस्कृतिप्रेमी प्रजापतिको श्रद्धाञ्जली सभा भक्तपुर नगरलाई संसारकै हेर्नलायक नगर बनाउन आवश्यक

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १३ कात्तिक

विश्वकर्मा भैल प्याखंसमेतको आयोजनामा विश्वकर्मा भैल प्याखंका अध्यक्ष, समाजसेवी, संस्कृतिप्रेमी, पूर्वजनप्रतिनिधि एवम् समाजका अगुवा कृष्णभक्त प्रजापतिको शनिबार श्रद्धाञ्जली सभा भयो ।
उक्त सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको निम्ति काम गर्ने व्यक्तिहरूको सधैँ संस्मरण गरिरहने विश्वास व्यक्त गर्दै राम्रो काम गर्ने व्यक्तिहरूकै कारण समाज पनि राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
नाचगान र वाद्यवादनको संरक्षण र विकासमा निरन्तर लागिपरेका सांस्कृतिक गुरु विकासप्रेमी, सामाजिक अगुवा मृतक प्रजापतिको योगदानको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले हाम्रो सहर, हाम्रो संस्कृति र सम्पदाको संरक्षण हामीले नै गर्नुपर्नेमा जोड दिनुभयो ।
भैल प्याखंको अभिलेख राख्नुपर्ने विचार व्यक्त गर्दै उहाँले मृतक प्रजापति देश र जनताप्रति समर्पित भएरै जनप्रतिनिधि भएर काम गरेको बताउनुभयो ।


भक्तपुर नगरलाई सांस्कृतिक नगर बनाउन, सम्पदा संरक्षण गर्न सांस्कृतिक गुरुहरूको उल्लेख्य योगदान भएको चर्चा गर्दै उहाँले भक्तपुर नगर देशको मात्र होइन संसारकै निम्ति उदाहरणीय नगर बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर स्वदेशी तथा विदेशीहरूको आकर्षणको केन्द्र बनिरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले संस्कृतिकर्मीहरूको सम्मान गरिरहेको पनि बताउनुभयो ।
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले देश र जनताको निम्ति काम गर्ने व्यक्तिहरू समाजका परिचित र प्रिय व्यक्ति बन्ने विचार व्यक्त गर्नुभयो ।
समाजलाई सभ्य र सुसंस्कृत बनाउने काममा अग्रज राजनीतिक, सांस्कृतिक, सामाजिक व्यक्तित्वहरूको योगदान भएको चर्चा गर्दै वडाध्यक्ष ज्याख्वले हरेकले आ–आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने र स्वास्थ्य परीक्षण समय–समयमा गरिरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
युवाहरू कुलत र दुव्र्यसनीमा लागिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले हामीमा नागरिक भावना र सांस्कृतिक स्तर हुनुपर्छ भन्नुभयो ।
चाख साकोसका अध्यक्ष लक्ष्मीप्रसाद प्रजापतिले मृतक प्रजापतिको राम्रो पक्षको अनुकरण गर्दै त्यसलाई निरन्तरता दिए र उहाँको अधुरो योजना पूरा गर्न सके श्रद्धाञ्जली सार्थक हुने बताउनुभयो ।
विश्वकर्मा साकोसका अध्यक्ष शमशेर ज्याख्वले कार्यक्रममा बोल्दाबोल्दै प्रजापति हृदयघातको कारण बितेको स्मरण गर्नुभयो ।
रत्नप्रसाद प्रजापतिले मृतक प्रजापति शालीन, सबैसँग मिल्ने र भिज्ने व्यक्तित्व हुनुहुन्छ, उहाँ हरेक काम गा¥हो नमानी गर्नुहुन्छ भन्नुभयो ।
पत्रकार कृष्ण प्रजापतिले शोकलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिँदै भैल प्याखंबारे पुस्तक प्रकाशन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तलातुंछि ल्याम्ह पुचःका अध्यक्ष प्रज्ज्वल प्रजापतिले उहाँ युवाहरूलाई पनि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा सरिक हुन प्रेरणा दिने र मार्गनिर्देश गर्ने व्यक्तित्व हुनुहुन्छ भन्नुभयो ।
विश्वकर्मा सांस्कृतिक खलका संयोजक विष्णुप्रसाद प्रजापतिले मृतक प्रजापतिको पारिवारिक जीवन, हरेक सङ्घ संस्था र व्यवसायमा लागेको विषयमा विस्तृत जानकारी दिनुभयो ।
विकास र सेवाको काममा एक दुई जनाले अवरोध गर्न खोजे पनि काम रोक्न नहुने सल्लाह दिने गरेको विचार व्यक्त गर्दै उहाँले मृतक प्रजापति नाचगान र वाद्यवादनलाई जीवन्तता दिन नयाँ पुस्तामा हस्तान्तरण गर्न लागिपरेको स्मरण गर्नुभयो ।
विश्वकर्मा भैल प्याखंका सचिव सुजित प्रजापतिले सभापतिको आसनबाट बोल्दै मृतक प्रजापति वृद्धादेखि बच्चासम्मका प्रिय व्यक्ति हुनुहुन्छ, समाजको निम्ति काम गर्दागर्दै उहाँले आफ्नो जीवन त्यागेको बताउनुभयो ।
सभामा किरण प्रजापतिले श्रद्धाञ्जली सभाको आवश्यकताबारे चर्चा गर्नुभयो ।
कार्यक्रम सुरु हुनुअघि एक मिनेट मौनधारण गरिएको थियो ।
२०१६ भदौ १० गते जन्मनुभएका कृष्णभक्त प्रजापतिको निधन कार्तिक ५ गते भएको थियो । उहाँ तुल्सीभक्त प्रजापति र रणदेवी प्रजापतिका जेठा पुत्र हुनुहुन्छ ।
यसैबीच विश्वकर्मा साकोसको आयोजनामा पनि मृतक प्रजापतिको श्रद्धाञ्जली सभा भयो ।
उक्त सभामा ज्ञानसागर प्रजापति, विष्णुबहादुर मानन्धर र रवीन्द्र ज्याख्वले उहाँको योगदानबारे चर्चा गर्नुभयो ।
साकोसका अध्यक्ष रामशेर ज्याख्वको सभापतित्वमा भएको उक्त श्रद्धाञ्जली सभामा कृष्णभाइ ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *