न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ साउन
भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा बुधबार बिहान विशेष सरसफाई गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरुबीच भएको छलफलले २०७९ साउन २६ गते बिहीबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र मिति २०७९ साउन २७ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।
भक्तपुरको दरबार क्षेत्र, खौमाबाट सुरु भएको सरसफाई र्यालीमा भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको मार्गमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वको टोली र वडा नं. ६ देखि १० सम्म भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व नेतृत्वको टोलीले सरसफाई गरेको थियो ।
सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको सचेतनामूलक सरसफाई कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै हाम्रो कला, संस्कृतिको संरक्षण गर्ने हाम्रो साझा दायित्व भएको बताए ।
गाइजात्रा र जनैपूर्णिमा शान्तिपूर्ण रुपमा मनाउन अनुरोध गर्दै प्रमुख प्रजापतिले प्रदिक्षणा मार्गमा रहेका फोहोर व्यवस्थापन गर्न वातावरणलाई सफा राख्न सरसफाइ अभियानकै रुपमा भक्तपुर नपाले जोड दिँदै आएको बताए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले विगतका वर्षमा झैं यस वर्षमा पनि सापारुको उपलक्ष्यमा परम्परागत र आधुनिक सांस्कृतिक विधाहरु तथा घिन्ताङघिसीलाई प्रतियोगिता गर्न लागेको जानकारी गराउँदै गाईजात्रा प्रदक्षिणा मार्गमा तार व्यवस्थापनको कार्य पनि भइरहेको बताए ।
र्याली सुरु हुन अगाडि भएको सभामा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले विगतका दिनमा कोभिडका कारण गाइजात्रा पर्व स्थगित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य र भव्य तरिकाले मनाउन लागेको अवगत गराए ।
गाईजात्रा प्रदक्षिणा मार्गमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, दाफा–भजन, टीम–क्लब, संघसंस्था, सहकारी संस्था, विद्यालय र सयौं नगरबासीहरुको सक्रिय सहभागिता मा सरसफाइ गरिएको हो ।
विभिन्न विद्यालयका विद्यार्थीहरुसहित सहभागितामा भएको सरसफाइमा विद्यार्थीहरुले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।