भक्तपुर बचतको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १५ फागुन


भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम शनिवार धुलिखेलमा बनभोजसहित सम्पन्न भएको छ ।
संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार रत्नप्रसाद प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै उनले रजत वर्ष र जनताका बीच बाचा गरेका आदर निकेटनको चाँदै शुरु गर्नुपर्ने बताए । उनले सदस्य संख्याभन्दा पनि संस्थाको वित्तीय व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन सञ्चालक समिति लाग्नुपर्ने बताए । संस्थाका समिति, उपसमितिका पदाधिकारीहरु कसैले पनि व्यक्तिगत स्वार्थलाई नहेरी संस्थाको प्रगतिका लागि चिन्तन मनन् गर्नुपर्ने औल्याए । साथै प्राकृतिक व्यक्तिलाई मात्र ऋण प्रवाह गर्ने नीति अनुरुप लागेकाले संस्थाले व्यावसायिक तथा उत्पादनशील क्षेत्रमा कम ऋण लगानी भएको बताए ।

संस्थाका अर्का सल्लाहकार कृष्ण प्रसाद धन्छाले प्रविधि मैत्री रुपमा संस्था अघि बढेमा र मोवाइल बैंकिङ वा एप्स सञ्चालन भएमा सदस्य र बाल बचतकर्तालाई समेत वित्तीय साक्षरता दिन सक्ने उल्लेख गर्दै उनले सन्दर्भ ब्याजदरले संस्थालाई कर्जा र निक्षेपको ब्याजदरमा समायोजन गर्न सजिलो भएको बताए । साथै, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रसंगलाई जोड्दै युक्रेनका राष्ट्रपतिले अमेरिकी सहयोग पाउने आशामा रुससँग दुस्मनी मोलेकै कारण भाग्नुपर्ने अवस्था आएको बताए । अमेरिकाले विश्वभर हतियारको व्यापार गरेर आतंक मच्चाउने र विध्वंश पार्ने भएकाले एमसीसीकै कारण नेपाललाई ध्वस्त पार्न खोजेको प्रति देशभक्त नेपाली सचेत हुनुपर्ने बताए । हरेक कुरा विदेशीकै भरमा चलाएपछि नेपाल विकास नहुने भएकाले भक्तपुर बचत पनि विदेशीको भर र एसेस ब्राण्डीङमा नजाँदैमा कुनै अप्ठेरो नपरेको र संस्थालाई सबै सदस्यको दह्रो विश्वास रहेको स्पष्ट पारे ।


संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले हरेक समीक्षा संस्थाको विषयमा केन्द्रीत हुनुपर्ने बताए । संस्थाको लक्ष्य र भावी कार्यक्रम अनुसार संस्थाले गर्नुपर्ने, गरिरहेका र गरिसकेका क्रियाकलापहरुको समीक्षा गर्नुपर्ने औल्याए । उनले विभिन्न समयमा गरेका जिम्मेवारी, निर्णय र प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताए । अहिलेको अवस्थामा ऋण दिनुभन्दा पहिले पारिवारिक क्षमताको पनि मूल्यांकन गर्नुपर्ने उनको सुझाव छ । संस्थाद्वारा प्रकाशित हरेराम जोशीको कृतिको अन्तरक्रिया गरेर परिचालन गर्नुपर्ने उनको धारणा छ । साथै प्रशासनिक कार्यमा अझै चुस्त दुरुस्त र छिटो छरिटो बनाउन संस्था क्रियाशिल बन्नुपर्ने उनले बताए ।

सल्लाहकार लक्ष्मी नारायण दुवालले भक्तपुर बचतले विभिन्न खालका व्यावसायिक तथा प्रबद्र्धनात्मक, शिपमूलक तालिम दिएर त्यसका लागि लगानी गर्नुपर्ने औंल्याए । साथै उनले संस्थालाई प्रशासनिक रुपमा सबल बनाउन कर्मचारीलाई आवश्यक तालिम दिएर योग्य र सक्षम तुल्याउनुपर्ने सुझाव दिए । उनले समिति उपसमितिका सदस्यहरुसँग सेवाभाव भएकै कारण संस्था प्रगतितर्फ गएको बताउँदै वार्षिक क्रियाकलापका लागि सञ्चालक समितिले बजेत छुट्याउनुपर्ने बताए ।


संस्थाको पुस मसान्तसम्मको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष राम प्रसाद प्रजापतिले ३ अर्ब ३४ कारोड २८ लाख ५४ हजार सात सय ४७ रुपैयाँको सम्पत्ति तथा दायित्वको कारोवार रहेको स्पष्ट पारे । सात हजार आठ सय ९० जना शेयर सदस्य रहेको संस्थामा २ अर्व ८७ कारोड ६० लाख ५३ हजार रुपैया ऋण प्रवाह भैरहेको जानकारी गराए । उनले संस्थाको सम्पत्ति दायित्व आम्दानी खर्चको अनुमानित र यथार्थ हिसाव विवरण पेश गरे ।

लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण सुन्दर प्रजापतिले विभिन्न सुझावका साथ समीक्षात्मक प्रस्तुति राखेको थियो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मी प्रसाद कुसी, ऋण उपसमितिका सदस्य लक्ष्मी प्रसाद दुवाल, शिक्षा उपसमितिका सदस्य जयराम कोजू, कृषि उपसमितिका सदस्य बालकृष्ण कुसी, सूचना तथा प्रकाशन उपसमितिका सदस्य सुन्दर प्रजापति, महिला उपसमितिका सदस्य चन्द्रलक्ष्मी दुवाल, सांस्कृतिक उपसमितिका सदस्य दिल बहादुर कासिछ्वा, व्यवसाय प्रबद्र्धन उपसमितिका सदस्य शम्शेर प्रजापतिलगायतले संस्थाको अर्धवार्षिक समीक्षा गरेका थिए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *