शिक्षा जनताको सेवाको लागि हुनुपर्ने

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

भक्तपुर, १६ माघ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारागन एकेडेमीको १७ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको बिहीवार दीप प्रज्ज्वलन गरी उद्घाटन गरियो ।
प्रमुख प्रजापतिले अभिभावक र विद्यार्थीहरुले पैसा कमाउन र व्यक्तिगत सुख सुविधाको लागि नभई देश र जनताको सेवा गर्ने उद्देश्यले पढाउनुपर्ने बताउँदै भविष्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने सोचले शिक्षा, भूगोल, इतिहास, कला संस्कृति जस्ता विषयहरुलाई विशेष महत्व दिई पठन पाठन गर्नु गराउनुपर्ने बताए ।


उनले विश्वविद्यालयहरुले शिक्षासँगै हातमा सीप र श्रम गर्न दिनुपर्ने धारणा राख्दै त्यस्ता व्यक्ति कहिल्यै पनि बेरोजगार हुनुनपर्ने बताए । देशलाई अगाडि बढाउन विद्यालयले असल र सुसंस्कृत, योग्य नागरिक तयार गर्नुपर्ने भन्दै उनले विद्यार्थीहरुको छनोटको विषय राम्रो हुनुपर्ने र देशले उत्पादन गरेका राम्रा विद्यार्थीहरु विदेशमा गइरहेको हुँदा विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराउनुपर्ने बताए ।
प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकता दिई कार्य गरिरहेको बताउँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंले लेख्नुभएको “१०० वर्ष पछिको भक्तपुर”को परिकल्पनालाई साकार पार्न नपाले विभिन्न भाषा सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आइरहेको बताए ।


रात्रीकालीन समयमा पर्यटकहरुलाई भक्तपुरको अवलोकन गराउने उद्देश्यले ठाउँ ठाउँमा परम्परागत बाजा, नृत्य, भक्तपुर मौलिक पहिचान बोकेको साँस्कृतिक झाँकीहरुको व्यवस्थापन गराउने सोच रहेको बताउँदै कला,संस्कृतिलाई पुस्तान्तरण गराउने उद्देश्यले नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा ती विषयहरुलाई समेटेको उनले बताए ।
पारागन एकेडेमीले देशको लागि योग्य जानशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गर्दै प्रमुख अतिथि प्रजापतिले शिक्षाले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा उत्प्रेरक रमन नेपालीले अभिभावक तथा विद्यार्थीहरुलाई सकारात्मक सोचका साथ अगाडि बढेमा कहिल्यै पनि असफल नहुने हुँदा जीवनलाई सफल बनाउन आ–आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसी, एनप्याब्सनका जी.बी खड्का, ई.सी.डी.एक्पर्ट सानु खड्का, नगर शिक्षा प्रमुख हरि निरौला, विद्यालयका प्रिन्सिपल पुण्यराम कवां, मर्डन बोर्डिङ स्कूलका प्रिन्सिपल बाबुकाजी कसपाल, अभिभावक दिपक लामिछाने, शिक्षक राजेन्द्र फोंजु, विद्यार्थी विजया काफ्ले लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गरेको थियो ।


कार्यक्रममा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु, विभिन्न परीक्षामा सर्वोकृष्ट छात्र–छात्राहरु, साफ खेलकुदमा उत्कृष्टता हासिल गरेका पूर्व विद्यार्थीहरु तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट हुन सफल अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई मायाको चिनो र पदक वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *