म पनि भक्तपुर नगरवासी भएकी भए…

विचार विशेष समाचार सम्पादकीय

सम्पादकलाई पत्र

मंगलबार भक्तपुर नगरपालिकाले आफ्नो नगरवासीलाई शैक्षिक ऋण दिएको समाचार सबैतिर व्यापक भयो । मैले पनि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएँ । मैलेमात्र हैन, मेरो ममी, ड्याडीले पनि त्यो कुरा थाहा पाउनु भयो । अनि खाना खाँदा कुरा भयो । ड्याडीले भन्नुभयो, ‘ए छोरी, तिमी पनि भक्तपुर नगरपालिकाकै कलेजमा पढिरहेकी छौ, तिमीले पनि नगरपालिकाले दिने ऋण लिएर पढ्न मिल्दैन ?’

खाना खाँदै गरेकी म, मुखमा गाँस थियो, के भनौं र के गरुँ भयो । निलेँ । भनेँ, ‘ड्याडी त्यो हाम्रो लागि हैन नि, त्यस्तो ऋण पाउन त भक्तपुर नगरमा बसेको हुनुपर्छ ।’

‘ए…’ बुबाले जवाफ दिनुभयो ।

खाना खाइसकेपछि थाल माझ्न जाँदा पनि मलाई बुवाको त्यही ‘शैक्षिक ऋण लिएर पढ न’ भन्ने कुराले लखेट्यो । त्यो वचनले मलाई आफ्नो कोठासम्म पछ्याइरह्यो । एकछिन भए पनि पढ्न बस्छु भनेर किताव पल्टाए, त्यो बेला पनि छोडेन । धेरै कोशिस गरेँ, फेसबुक चलाएँ, छोडेन, अझ त्यहीबारेको समाचारै बढी आयो, युट्युबमा पनि मन गएन । सुत्न खोजेँ, त्यही कुराले पछ्याइ रह्यो ।

हाम्रो परिवार किसान परिवार । घरमा दाइ, भाउजु, दुई भाइ, म, दिदी, बुबा, आमा । आमा र बुबा घरकै काममा व्यस्त, घरमा एउटा भैंसी छ, दुईवटा बाख्रा, ६÷७ वटा कुखुरा । खेतको नाममा ३ रोपनी छ । धान, गहुँसँगै आधा रोपनीजतिमा आलु लगाउँछौं । केहीमा घरमा खान पुग्ने गरी तरकारी पनि लगाएका छौं । दाइ कामको सिलसिलामा बिदेश हुनुहुन्छ, मलेसियामा । ३ वर्ष भयो दाइ जानुभएको ।बेलाबेलामा फोन गर्नुहुन्छ । भाउजु पनि घरैमा, घरको काम गर्नुहुन्छ, बेलामौकामा बुन्ने काम गर्नुहुन्छ । भाइहरु पढिरहेका छन्, एउटा कक्षा १० मा एउटा ११ मा । घरको आर्थिक सबै हेर्ने बुवा ।

म अलि पढ्न सक्नेमा गनिएकी छु । त्यही भएर म अहिले भक्तपुरकै एक कलेजमा साइन्स पढिरहेकी छु । पढ्न सक्ने भएकीले दाइ, भाउजुको सल्लाह, मलाई पढाउनु हुने शिक्षकहरुले घरैसम्म आएर छोरीले पढ्छु भनेको विषय पढाउनु पर्छ, बरु ऋणै गरेर भए पनि पढाउनुपर्छ भन्ने कुरा भएपछि बुवा र आमा मलाई साइन्स पढाउन राजी हुनुभएको हो ।

त्यसरी पढेकी मलाई बुवाले त्यसा भन्नुहुँदा म आफू बसिरहेको सूर्यविनायक नगरपालिकाले पनि यस्तै ऋण दिए त आहा! कति राम्रो हुने थियो भन्ने लाग्यो । एकातिर पछुतो पनि लाग्यो, मेरा बाआमा पनि भक्तपुर नगरपालिकाका वासिन्दा भएको भए, मैले पनि ऋण पाउने थिएँ, आफूले चाहेको विषय पढ्न पाउने थिएँ । तर, मेरो नगरपालिकामा त्यो खालको सोच्ने मेयर, उपमेयर, वडाध्यक्ष नै छैनन्, खाली बाटो बनाउने, पुल बनाउनेमात्र ध्यान दिन्छन् । कहिँ कतै कार्यक्रम हुँदा पनि खाली बाटो बनाउने कुरामात्र हुन्छ, कहिल्यै पनि शिक्षा राम्रो बनाउने कुरा हुन्न । यसैले मलाई भन्न मन लाग्यो, कास, म पनि भक्तपुर नगरवासी भएको भए…. ।

– कार्की यजस्वी

Leave a Reply

Your email address will not be published. Required fields are marked *