सल्यानमा साबुन उद्योग सञ्चालनमा

अर्थ/वाणिज्य समाचार

सल्यान, १९ पुस


सल्यानमा करोडौँ रुपैँयाको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगर भगवती खोलामा रु.२ करोड ६८ लाखको लागतमा साबुन उद्योग सञ्चालनमा आएको हो । स्थानीय ६ जना युवाको लगानीमा ग्लोबल लाइफ पीआर साबुन उद्योग सञ्चालनमा आएको हो ।

पछिल्लो समयमा जिल्लामा रोजगारीका अवसर नेदेखेर युवाहरु विदेश पलायन भइरहेको अबस्थामा ती युवाहरुलाई चुनौती दिँदै जिल्लामा साबुन उद्योग सञ्चालनमा आएको हो । उद्योगका सञ्चालक प्रकाश बुढाथोकीले आफ्नो शीप र क्षमता हुँदाहुँदै पनि बेरोजगारीका कारण नेपाली विदेश गइरहेको अवस्थामा स्वदेशमै बसेर केही गर्नुपर्छ भनेर सामूहिक लगानीमा साबुन उद्योग सञ्चालन गरिएको जानकारी दिए ।
‘अहिले दैनिक तीन हजार पिस साबुन उत्पादन गर्न सकिन्छ’ अर्का सञ्चालक रामबहादुर बुढाथोकीले भने, ‘साबुन उद्योगमा धेरै जोखिम हुँदाहुँदै पनि उद्योग सञ्चालनमा ल्याएका छौँ ।’ बजारको माग र कच्चा पदार्थको अभावका कारण अहिले दैनिक पाँच सय काटुन साबुन उत्पादन भइरहेको बुढाथोकीको भनाइ छ ।

‘नयाँ कम्पनी भएकाले बजारमा विश्वास दिलाउन गाह्रो भइरहेको छ, त्यसकारण मेशिनको क्षमताअनुसार भन्दा ग्राहकको मागअनुसार साबुन उत्पादन गर्दै आइरहेका छौँ’ उनले भने । बजारमा बाहिरका साबुनभन्दा गुणस्तरीय र सस्तोमा साबुन बजारमा पठाइरहेको उनको भनाइ छ । दैनिक आवश्यक पर्ने साबुनबाट मात्रै दैनिक करोडौँ रुपैयाँ सल्यानबाट बाहिरिरहेको बताउँदै बुढाथोकीले साबुनबाट बाहिरिएको पैसालाई मात्र रोक्न सके सल्यान आर्थिक रूपमा सवल बन्ने दावी छ ।

दिनप्रतिदिन युवा रोजगारीका लागि विदेश पलायन भइरहेको समयमा स्वेदशमै स्वरोजगार बन्न सकिने अर्का इन्द्रबहादुर बुढाथोकीले बताए । विदेशमा गएर जस्तो पनि काम गर्न तयार हुने स्वेदशमा ठूलो काम खोज्ने सस्ंकारका कारण नेपाल पछि परेको उनको भनाइ छ । सानो लगानीबाट पनि स्वरोजगार भई स्वदेशमै बस्न सकिने उनीहरुको भनाइ छ ।

साबुन उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ बाहिरबाट आयात हुँदै आएको छ । अहिले यस उद्योगमा उत्पादित साबुन जिल्लाको श्रीनगर, खलंगा, थारमारे, कपुरकोट लगाएतका बजारमा निर्यात हुँदै आएको छ । यसलाइृ बिस्तार गरेर छिमेकी जिल्लामा पनि निर्यात गर्ने योजना भएको सञ्चालकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *