रुकुम पूर्वमा प्राविधिक शिक्षालय निर्माण हुँदै

अर्थ/वाणिज्य पर्यटन शिक्षा समाचार

रुकुम, २० पुस


रुकुम पूर्वमा प्राविधिक शिक्षालय खुल्ने भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका –१, लुकुम स्थित सिद्धचौर माध्यमिक विद्यालयमा प्रदेशकै प्रतिष्ठित बहु–प्राविधिक शिक्षालय स्थापना हुने भएको हो ।
जसका लागि उपयुक्त जग्गाको खोजी भइरहेको बताइएको छ । प्रदेश नं. ५ का विशिष्ट व्यक्तिहरुको टोली उपयुक्त जग्गाको खोजीमा रुकुम पूर्व आएको बताइएको छ ।
पछिल्लो पटक पुस ७ गते प्रदेश सांसद तेजबहादुर ओलीको टोली रुकुम पूर्वको लुकम गाउँमा पुगेर बहु प्रतिष्ठित प्राविधिक शिक्षालयको जग्गाको सम्भाव्यता अध्ययन गरेको छन् । प्रदेश सदस्य ओलीसँगै शिक्षा तथा सामाजिक निर्देशनालय प्रदेश नम्बर ५ का शिक्षा निर्देशक मनोजकुमार गैरे, निर्देशनालयका लेखा अधिकृत सुरजकुमार चुँदरा लगायतको टीम कुम पूर्वमा पुगेको हो ।
उक्त प्राविधिक शिक्षालयलाई सिद्धचौर माविले आफ्नो भोगाधिकार रहेको जग्गा उपलब्ध गराउने भएको छ । विद्यालयले कम्पाउण्डको एक छेउमा २५ रोपनी भन्दा बढी जग्गा दिन लागेको हो । त्यसका लागि सबै तयारी पूरा भइसकेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिएका छन् ।
अब भवनको डीपीआरका लागि प्रदेशबाट छिट्टै टोली यहाँ आउने उनले बताए । पहिलो वर्षका लागि छात्रावास, निवास, पार्क र प्रयोगशाला भवन निर्माण हुने छन् ।
यसका लागि प्रदेशले १ करोड बजेट विनियोजन गरेको छ । पहिलो चरणमा सम्भवतः हाइड्रो, इन्जिनीयरिङ, फार्मेसी र औषधि विज्ञान आदि विषयको पढाइ हुन सक्ने पुनले जानकारी दिएका छन् । यो शिक्षालय खुलेसँगै देशका विभिन्न स्थानबाट यहाँ अध्ययन गर्न आउने छन् ।
एकै स्थानमा धेरै विषयको अध्ययन हुने भएकाले विद्यार्थीले रोजेको विषय छानेर पढ्न सजिलो हुने उनको भनाइ छ । उनले पढाइमा चाहिने प्रयोगात्मक सामग्री स्थानीय स्तरमा पनि उपलब्ध हुने बताए । जग्गा तथा खेल मैदान पर्याप्त रहेको कारण सबै क्षेत्रका विद्यार्थीलाई उपयुक्त वातावरण भएको ठाउँ हुने विश्वास उनले लिएका छन् । मध्यपहाडी राजमार्गले छोएकोले यातायातको पनि सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *