भक्तपुर नगरपालिका अवलोकनमा टोखा नगरपालिकाका जनप्रतिनिधिहरू

विशेष समाचार समाचार

भक्तपुर, ३ भदौ

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार टोखा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको सभाकक्षमा भेट गरे । टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको फोहरमैला व्यवस्थापन र विकास निर्माणका कार्यहरुबारे जानकारी गराए ।

भक्तपुर नगरलाई सरसफाइको उत्कृष्ट नगर बनाउन नगरको १० वटै वडामा ट्राइसाइकलमार्फत् कुहिने र नकुहिने फोहर संकलन गर्दै आएको र फोहर व्यवस्थापनको दीर्घकालीन समाधानको लागि विशेषज्ञ टोली गठन गरी सरसफाइ कार्यलाई थप व्यवस्थित गर्ने कार्य भइरहेको अवगत गराए ।

उनले भक्तपुरका प्रसिद्ध जात्राहरूलाई शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन गर्न भक्तपुर नगरपालिकाले प्रहरी प्रशासनसँग समन्वय गरी अगाडि बढिरहेको बताए । भक्तपुर नगरको सुरक्षा र सरसफाइ गतिविधिहरु सीसीटीभीमार्फत् निगरानी भइरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले नगरपालिकाले युवा र महिला लक्षित विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको बताए ।

उपप्रमुख रजनी जोशीले शारीरिक एवम् बौद्धिक अपांगता भएका नगरबासीहरुलाई अपांगतासम्बन्धी परिचयपत्र वितरण गर्ने कार्य भइरहेको बताउँदै भक्तपुरको ऐतिहासिक रानी पोखरीमा सर्वसाधारण जनताको पहुँच बढाउन नेपाली सेनासँग सहकार्य भइरहेको बताए।

टोखा नपाका उपप्रमुख डंगोलले टोखा नगरपालिकाको मुख्य आम्दानीको स्रोत सम्पत्ति कर, बहाल र व्यवसाय कर भएको बताउदै फोहरमैला व्यवस्थापन चुनौतीको विषय भएको बताए ।

भक्तपुर नगरपालिकाले नगरको फोहर व्यवस्थापनमा गरेका कार्यहरुबाट टोखा नपाले पनि सिक्न चाहेको जिकिर गर्दै उनले टोखामा अनियमित घर निर्माण गर्नेहरु धेरै भएको र जनतालाई करको दायरामा ल्याउने प्रयासमा रहेको बताए ।

भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, टोखा नपा ९ वडाका वडाध्यक्ष जेपी नेपाल, कार्यपालिका सदस्यहरु कल्पना घिमिरे, लीता भुुजेल, उर्मिला बि.क., पार्वती अधिकारी, शोभा तामाङ र बनस्थली कलेजका प्राचार्य टंक चापागाइ पनि सहभागि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *