सन्दर्भः नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवस
न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ माघ

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा पार्टीको धारणाबारे केन्द्रित रहेर पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिएको अन्तर्वार्ता
- अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टी स्थापनाको ५० वर्षमा प्रवेश गर्यो । यस महत्वपूर्ण अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहयोगी तथा मित्रहरूलाई के सन्देश दिनुहुन्छ ?
नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहयोगी र मित्रहरूलाई नेमकिपाको स्थापनाका ५० औँ वर्षको अवसरमा साथीहरूले हाम्रो पार्टीका सबै आन्दोलन, सङ्घर्ष, सैद्धान्तिक र राजनैतिक सङ्घर्षहरूमा साथ दिनुभएको छ हाम्रो सफलता र उपलब्धिहरूलाई हाम्रै देश र जनताको सुख दुःख र गौरवको रूपमा लिन अनुरोध गर्दछु । त्यसको निम्ति सबैलाई धन्यवाद दिन चाहन्छु ।
५० वर्षको सङ्घर्षको अनुभवबाट हासिल गरेका समाजको आमूल परिवर्तनको निम्ति आगामी वर्गसङ्घर्ष, राजनैतिक र सैद्धान्तिक सङ्घर्षको निम्ति सदा तयार रहन पनि सल्लाह दिन चाहन्छु ।
अबका हाम्रा सङ्घर्षहरू पिपलपाते र छद्मवेशी क्रान्तिकारीहरूसँग हुने निश्चय छ । - नेमकिपाको सङ्घर्षको पाँच दशकको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेमकिपाको पाँच दशकको सङ्घर्षको अनुभवमा समाजको आमूल परिवर्तनको पुँजीवादी सत्तामा गएर भाग खाने र कामदार जनताको हितभन्दा शोषकवर्गको हितलाई प्राथमिकता दिने दृष्टिकोण र व्यवहार पुरै पुँजीवादी हुँदा त्यसकै विरोधमा सैद्धान्तिक र व्यावहारिक सङ्घर्ष गर्नु आवश्यक छ । पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गको प्रतिनिधिहरूसँग लिएको ‘घुस’ हो ।
यही पाँच दशकमा एमाले ‘भाइ काङ्ग्रेस’ र माओवादी ‘भारतीय ट्रोजन हर्स’ मा पतन भए । नेपालको कम्युनिस्ट आन्दोलनले ठुलो ठुलो क्षति व्यहोर्दै छ र दुर्घटनामा पर्दै छ । - के नेमकिपा एक्लैले नेपाली कम्युनिस्ट आन्दोलन जोगाउन सम्भव होला ?
कम्युनिस्ट र कम्युनिस्ट पार्टीको नाममा विभिन्न छद्मवेशीहरूले पुँजीवादी सत्तासँग गरेका सबै प्रकारको पद, पैसा र भ्रष्टाचार तथा विदेशी पुँजीको हितमा विदेशमा युवाहरू पठाउने काम कारबाहीबारे नेमकिपाले आलोचना र विरोध गर्दै आएको सर्वविदितै छ । यसैलाई भनिन्छ– छालको विरोधमा सङ्घर्ष गर्नु नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको यस क्षेत्रमा पनि देखिने एक योगदान हो ।
सत्तामा पनि सामेल हुने, अर्कोतिर पछुतो पनि गर्ने तथा छोड्न पनि नसक्ने जस्ता लोलोपोतो सारमा पुँजीवादी सत्ताको विरोध नभई सहयोगको उपाय हुनेछ, नेमकिपा त्यस्ता नीतिको विरोधमा छ ।
नेपालको कम्युनिस्ट आन्दोलन आकाशमा काला बादलहरूले घेरिएको रातको अँध्यारोमा छामछाम छुमछुम गर्दै छ । नेमकिपा त्यस्तो अप्ठ्यारो परिस्थितिमा परिणामको विचारै नगरी भीरमा भौतारिनुभन्दा आफ्नो शक्तिलाई जोगाउँदै, जनताको निःस्वार्थरूपले सेवा गर्दै, अब चाँडै पूर्वबाट आउने रातो घामको प्रतिक्षा गर्दै छ । भोक लाग्यो भन्दैमा जसले जे दिए पनि खाने खोटपूर्ण कार्य हो तथा विष खाएर भोक मेटाउने उपाय ठूलो विराम हुनेछ । - नेमकिपालाई पनि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले माथि उठ्नसमेत नदिने हेतुले निरन्तर षड्यन्त्र चालु राख्दै छन् । नेमकिपालाई दबाउन कम्युनिस्ट नामधारी पार्टीहरूले गर्न केही बाँकी राखेनन् । किन यस्तो भयो ? यहाँको विश्लेषण के छ ?
सच्चा कम्युनिस्टहरूले हाम्रो किन विरोध गर्छन् ? साथै ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा उठाउनेहरू’ ले हाम्रो विरोध गर्दा को के हो भन्ने प्रस्ट हुन्छ । नेमकिपा देशी र विदेशी प्रतिक्रियावादी षड्यन्त्रबाट जोगिनैपर्छ । कोही कराउँदैमा राम्रो र नराम्रो छुट्टिँदैन बरु तिनीहरूको कामले को के हो भन्ने छुट्टिन्छ ! - तत्कालीन पुष्पलाल समूहमा सैद्धान्तिक सङ्घर्ष गर्दाका दिनलाई आज ५० वर्षपछि कसरी सम्झनुहुन्छ ? पुष्पलालले किन यहाँको विचारमा समर्थन जनाउनुभएन ? उहाँको बुझाइ तथा विश्लेषणमा समस्या थियो या उहाँका सल्लाहकारहरूमा ?
हाम्रो विचारको सकारात्मकतामा पुष्पलालजीको ध्यान गएको भए तथा समर्थन जनाएको भए पनि उहाँका सल्लाहकारहरू उहाँसँग रहने थिएनन् । उहाँका सल्लाहकारहरू एकएक गरेर अरू पार्टीमा लाग्दै गएबाट स्थिति प्रस्ट हुन्छ । - यहाँले अलग्गै पार्टी स्थापना गर्नुभएपछि पुष्पलालसँगको छलफल, भेटघाट या मित्रता कस्तो रह्यो ? के उहाँले पछि यहाँको विचारमा सहमति जनाउनुभयो ? नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक नेताको नाताले नेमकिपाको स्थापनाले नेपाली कम्युनिस्ट आन्दोलन विसर्जन हुनबाट जोगिने आशा पुष्पलालले गर्नुभएको केही सङ्केत पाउनुभयो ?
हामी बनारसबाट छुट्टिसकेपछि पुष्पलालजीले आफू एक्लो अनुभव गर्नु स्वाभाविक छ । तर, त्यो परिस्थितिमा उहाँले हाम्रो स्थितिमा पुग्नुभन्दा झन्झन् पर पर हुने वातावरण तयार भइसकेको थियो । ‘सङ्गतको गुण त्यही’ भन्ने नेपाली उखान चरितार्थ भयो । - यहाँले दस्ताबेजकै रूपमा “नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन” र “रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन” पुष्पलाल समूहमा पेस गर्नुभयो । यहाँको सैद्धान्तिक मतभेदलाई तत्कालीन मुख्य मुख्य नेताहरूले कसरी लिए ? के व्यापक छलफल गर्न माने ? यहाँलाई धम्की, दबाब या कुनै प्रस्ताव आयो कि ?
ती प्रस्तावहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र छलफल गर्ने तिनीहरूको कुनै इच्छा त के चासो पनि थिएन । बैठक हात हालाहालको स्थितिमा पुगेपछि मैले प्रस्ट गरेँ– हामी कुनै पनि परिस्थितिमा प्रस्ताव फिर्ता लिने पक्षमा छैनौँ र त्यसको निम्ति बनारसका ठुलठुला नालीको विषयमा मलाई थाहा छ ।
पुष्पलालजी लाचार देखिनुहुन्थ्यो, न बैठक स्थगित गर्नसक्नुभयो, न त बैठकलाई सम्हाल्न सक्नुभयो । म बैठक छोड्ने पक्षमा थिइनँ । - नेमकिपा स्थापना गरिसकेपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
पुष्पलाल गम्भीर मुद्रामा दरभङ्गा आउनुभयो र आफू पनि भक्तपुर आउने बताउनुभयो । उहाँलाई भक्तपुरमा बचाउन सकिने परिस्थिति थिएन । २०४५ सालको काण्डले पनि प्रस्ट गर्यो । - पार्टी सङ्गठन अगाडि बढाउन प्रारम्भमा केकस्ता कदम चाल्नुभयो ? केकस्ता गतिविधि थाल्नुभयो ?
‘खण्डन’ र ‘सामाजिक साम्राज्यवाद’ बारे साथीहरूले अध्ययन थालिसकेका थिए । वाग्मती, नारायणी र जनकपुर अञ्चलका साथीहरूको फरक–फरक भेला गर्दै स्थिति अवगत गराइयो । त्यसपछि तीनवटै अञ्चलका प्रतिनिधिहरूको बैठकले एक नयाँ सङ्गठन गर्ने कुरा निधो गर्ने तयारी गर्यो । - देश, जनता, पार्टी सङ्गठन र क्रान्तिको पक्षमा झण्डै सात दशक लामो सङ्घर्ष गरिसक्नुभयो; अझै युवा जोशका साथ समर्पित भएर लागिराख्नुभएको छ । यहाँको ऊर्जाको स्रोतबारे नयाँ पुस्तालाई बताउनुहुन्छ कि ? युवा पिँढी कसरी अगाडि बढोस् भन्ने चाहनुहुन्छ ?
बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी आदि जिल्लाका पुराना किसान साथीहरूसँग छलफल र भेटघाटबाट साथीहरूले थाहा पाइसक्नुभयो कि सङ्गठन तल्लो तहबाटै गर्नु आवश्यक छ । त्यसरी तराईको किसान आन्दोलनको पुस्तक तयार भएको हो ।
नयाँ पुस्तालाई पनि सैद्धान्तिक जगको तालिम दिँदै र व्यावहारिक गतिविधिमार्फत मात्रै कार्यकर्ता तयार हुनेछन् भन्नेबारे साथीहरू सचेत थिए । त्यसको निम्ति बेलायत र फ्रान्सको सामन्तवादविरोधी सङ्घर्ष र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे तथा त्यसबेलाका नेता र कार्यकर्ताहरूबारे अध्ययन गराइएको थियो । त्यसपछि अक्टोबर क्रान्ति र पछिल्ला समाजवादी आन्दोलनबारे पनि नयाँ साथीहरू अवगत हुँदै गए । - तुलनात्मकरूपमा नेपालमा क्रान्ति ढिलो भइसकेको चर्चा बरोबर चल्छ । यहाँ कतिको आशावादी हुनुहुन्छ ? प्रतिक्रियावादी शक्ति बलियो हुँदै जानुको कारण के हो ?
मनोगतवादी इच्छाले तत्काल समाज परिवर्तन हुने गर्दैन । कुनै देशको परिवर्तनको निम्ति घरेलु एवं अन्तर्राष्ट्रिय परिस्थिति र छिमेकीहरूको परिस्थिति महत्वपूर्ण हुन्छ । अरू देशको तुलनामा नेपालको कम्युनिस्ट आन्दोलन भौतिक र मनोगत दुवै रूपले कमजोर छ । - नेपाली कम्युनिस्ट आन्दोलन माथि उठाउने उपाय तथा नयाँ पुस्ताको अभिभाराबारे स्पष्ट पार्नु हुन्छ कि !
विदेशमा श्रमिकको नाममा युवाहरू पठाउनु नै कम्युनिस्ट आन्दोलन कमजोर पार्नु हो । तर, विदेशमा युवाहरू पठाउनेहरूमध्ये कम्युनिस्ट पार्टी भन्नेहरू पनि कम छैनन् । देशको नयाँ पुस्ता कहाँ खोज्न जाने हो ! देश विदेशमा गएकाहरूले पनि विदेशबाट सिक्ने अवसर गुमाउन नदिने हो भने त्यसमा सकारात्मक सम्भावना देख्न सकिन्छ । - देशको राजनीतिक सङ्कट दिनप्रतिदिन गम्भीर बन्दै छ । देशलाई जोगाउने उपायबारे यहाँको विचार बताइदिनुहुन्छ कि !
जनताको विभिन्न पक्षसँग छलफल र गतिविधि नै एक महत्वपूर्ण कार्य हो । - अन्तमा, नेमकिपाको ५० औँ स्थापना दिवसको उपलक्ष्यमा देश विदेशका कामदार जनता तथा साम्राज्यवादविरोधी जनतालाई थप सन्देश दिनुहुन्छ कि ?
एक वर्षभित्र आ–आफूले समाजमा परिवर्तन गर्न के के काम गर्यौँ, कतिजना नयाँ साथी र नयाँ सङ्गठन बनायौँ तथा कुन–कुन नयाँ जिल्लामा सङ्गठन विस्तार गर्याैँ भनी समीक्षा गर्नु आवश्यक छ ।
भित्री मनैदेखि देश र जनताको सेवा गर्ने भावनाबाट कार्यकर्तालाई प्रेरित गराउनैपर्छ । त्यसको निम्ति विभिन्न देशका क्रान्ति र क्रान्तिकारी नेता, कार्यकर्ता र सहिदहरूबाट सिक्नु जरुरी छ ।
स्राेतः श्रमिक साप्ताहिक