साढे तीन अर्बको बित्तीय विवरणसहित भक्तपुर बचतको समीक्षा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ भदौ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०७९÷०८० को वार्षिक समीक्षा शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा तीन अर्ब ४९ करोड ९९ लाख रुपैयाँको वित्तीय विवरण पेश भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले संस्थाको दिगोपना पदाधिकारी र कर्मचारीको कुशल कुटनीतिक सम्बन्धमा भर पर्ने बताएको छ । उनले चरमपन्थी राष्ट्रबाद र साम्प्रदायिकतावादीको उपस्थितिले देशको अर्थतन्त्र दामाडोल भएको स्पष्ट पारेको छ । नक्कली कम्युनिष्टबाट समाजवादको आशा गर्न नहुने बताउँदै उनले ठूला नेतृत्वकर्ता र सफल व्यक्तिहरुको जीवनीको अध्ययनबाट मात्र कुटनैतिक सम्बन्ध विस्तार गर्न सकिनेमा जोड दिए ।

सल्लाहकार एवं मजदुर दैनिकका सम्पादक विष्णु गोपाल कुसीले नेपालभर नै प्रतिस्थपित भक्तपुर बचतको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न सबै पक्षले इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक गतिविधि अन्तर्गत भक्तपुर आदर निकेतन स्थापना र सञ्चालनमा भक्तपुर बचतबाट सहयोग भएपनि सामुदायिक विकास कोषअन्तर्गत बाँकी रहेको रकमबाट भएपनि भक्तपुर नगरपालिकामा बुझाउनुपर्ने औल्याए । ज्येष्ठ सदस्यको सेवा सुविधावापत गर्ने गतिविधि बढाउन ज्येष्ठ नागरिक उपसमिति बनाउनु उचित भएको तर्क दिँदै उनले सदस्यको भावनालाई कदर गर्दै शेयर लाभांशलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सभापतिको आसनबाट संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्था नीतिकै आधारमा अघि बढ्ने विश्वास व्यक्त गर्दै इमान्दारिता, लगनशीलता र पारदर्शीता गुमेका सहकारी दामाडोल हुने स्पष्ट पारे । उनले सहकारीमा साढे दुई दशक अथक रुपमा योगदान गर्ने सदस्यहरुकै कारण संस्था अगाडी बढेको औल्याए ।


संस्थाका सञ्चालक सदस्य जगनाथ प्रजापतिले संस्थाको आर्थिक विवरणमाथि विश्लेषणात्मक टिप्पणी गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत तथा सचिव लक्ष्मी प्रसाद कुसीले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका सदस्य जितेन्द्र ज्याख्व, ऋण उपसमितिका लक्ष्मी प्रसाद दुवल, व्यवसाय प्रबद्र्धन उपसमितिका अनिता प्रजापति, युवा उपसमितिका तुल्सीराम प्रजापति, खेलकुद उपसमितिका राजेश प्रजापति, सांस्कृतिक उपसमितिका प्रज्वल प्रजापति, सूचना तथा प्रकाशन उपसमितिका सुन्दर प्रजापति, कृषि उपसमितिका बालकृष्ण कुसी, शिक्षा उपसमितिका जयराम कोजुले संस्थाको वित्तीय विवरण र संस्थाका विषयमा समीक्षात्मक टिप्पणी गरेको थियो ।

तस्विरः प्रेम प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *