भक्तपुर बारले गरे बास्तोला र थापालाई सम्मान

विशेष समाचार समाचार

प्रेम प्रजापति
भक्तपुर, ५ भदौ

नेपाल बार एशोसियशन भक्तपुर शाखाले सोमबार भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश गोपाल प्रसाद वास्तोला र भक्तपुर बारका पूर्व अध्यक्ष नेपाल ल क्याम्पसका उपप्राध्यापक अधिवक्ता कमलराज थापालाई सम्मान गरेको छ । मुख्य न्यायाधिश वास्तोला नेपालभरका न्यायाधिशमध्ये कार्य सम्पादनमा उत्कृष्ठता प्रदर्शन गरेको र जिल्ला बारका पूर्वअध्यक्ष थापाले नेपाल कानुन परिषद्बाट पुस्तक लेखनमा सम्मानित भएको अवसरमा जिल्ला बारले सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बार एशोसियशनका केन्द्रीय अध्यक्ष गोपाल कृष्ण घिमिरेले अनुहार हेरेर होइन, कामको मूल्याङ्कन गरीसम्मान गरेको बताए । जीवनभर न्याय र कानुनमा समर्पित उहाँहरु देशैभरका कानुन व्यवसायीबाट सम्मानित व्यक्तित्व रहेको चर्चा गरे । निर्दोष व्यक्ति कहिल्यै अन्यायमा पर्न नहुने तर्क राख्दै उनले न्यायालयभित्र नियुक्तिका कुरामा विवाद आउने बताए । उनले अदालतको न्याय सम्पादनका लागि राष्ट्रिय बजेट नछुट्याएकोप्रति खेद व्यक्त गरे ।

सम्मान ग्रहण गर्दै भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश गोपाल प्रसाद वास्तोलाले कोभिडको समयमा पनि न्याय सम्पादन गरी साहस देखाएको बताए । उनले १२ सयभन्दा बढी न्यायसम्पादन गरेको र मान्छेको सन्तुष्टिलाई आधार बनाएको औल्याए । बारका लागि ५ ठाउँमा जग्गा उपलब्ध गराएको र ३ ठाउँमा भवन बनाउन लगाएको स्मरण गर्दै उनले बारसँग सुमधुर सम्बन्ध राखेको अनुभव सुनाए । वार अध्यक्षले वाच डगको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल कानुन व्यवसायी परिषद्बाट सम्मानित व्यक्तित्व कमलराज थापाले सार्वभौमसत्ता सम्पन्न नेपालीलाई दास बनाइरहेको बताउँदै सर्वसाधारण नागरिकलाई पराजित गर्ने पद्धती घटाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं जिल्ला बारका अध्यक्ष आर सी हुमागाईले अदालतलाईे जनताको अदालत बनाउन नेतृत्व पङ्तीले ध्यान दिनुपर्ने बताए ।

भक्तपुर बारका अध्यक्ष रवीन्द्र प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता सानु सुवाल, डिएलए अध्यक्ष रामसु्न्दर खाइतु, पीपीएलएका प्रतिनिधि प्रचन्द प्रकाश प्रधान, कानुन अध्ययन समाज नेपाल, भक्तपुरका अध्यक्ष अधिवक्ता राजु कैतीलगायतले बधाई तथा शुभकामना दिएको थियो ।

तस्विरः प्रेम प्रजापति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *