‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २९ साउन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उनलाई रिहा गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले यसअघि २०७८ मंसिर २८ गतेको पत्रमा मेडिकल काउन्सिलले भुलबस रन्जित कुमार यादवको नाम उल्लेख भएको भनेर दोस्रो पत्र पठाएको जानकारी दिए।

‘काउन्सिलमा दर्ता भएका चिकित्सक रंजित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भुलबस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको भनेर पत्र आएपछि हाल पक्राउ परेका डा रंजित कुमार यादव वास्तविक प्रतिवादी नभएको यकिन भएको हो,’ सीआईबी प्रवक्ता एसपी अधिकारीले भने।

यादवलाई आइतबार राति सीआईबीले हिरासत मुक्त गरिएको थियो। उनलाई जिम्मा जमानीमा छाडिएको एसपी अधिकारीले जानकारी दिए।

एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो।

जसक्रममा साउन २५ गते नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य समेत रहेका मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ परेका थिए। सीआईबीले शुक्रबारसम्म ८ जना ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये प्रतिनिधि सभा सदस्य शर्मा बाहेक अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप अनुमति दिएको थियो।

अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि डाक्टर यादव सक्कली भएको पाइएको थियो।

नेपाल चिकित्सक संघले भने गलत विवरण उपलब्ध गराउने मेडिकल काउन्सिल र सीआईबीका अनुसन्धान अधिकारीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरेको छ।

मेडिकल काउन्सिलजस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सीआईबीलाई उपलब्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने काम भएको संघले जनाएको छ।

संघका महासचिव सञ्जिव तिवारीले विज्ञप्ति जारी गर्दै यो घटनालाई गम्भीर रुपमा लिइन कानुनी कारबाही अगाडि नबढाइ चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *