‘गुठी एक सामाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिसँग अन्तरक्रिया

विशेष समाचार शिक्षा समाचार

मालती पराजुली
भक्तपुर, १७ जेठ


वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिसँग ‘गुठी एक सामाजिक संस्था’ विषयमा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले बेलायतको संविधानजस्तै गुठीमा पनि अलिखित नियम, कानुन रहेको र यस नियम कानुनलाई सबै गुठीयारहरुको सहमतिमा मात्र सुधार तथा परिमार्जन गर्न सकिने बताए ।

सामाजिक संस्थाको रुपमा स्थापित गुठीले समाजका व्यक्तिहरूद्वारा सामाजिक उद्देश्य पूर्ति गर्ने र संस्कृति, संस्कारहरूलाई निरन्तरता दिने उनले बताए ।
गुठीमा अपनाइने कार्यहरुका बारेमा विद्यार्थीहरुलाई सहज तथा सरल तरीकाले बताउँदै उनले गुठी समुदाय अरू संस्थाभन्दा भिन्नै तरिकाले चल्ने स्पष्ट पारे । उनले भने, ‘गुठी सरकारी, निजी र राज गुठी गरी तीन प्रकारका हुन्छन् ।’

समुदाय र गुठियारबिच मर्दापर्दा सहयोग गर्ने, समाजको हित र भलाइको निम्ति काम गर्ने, परम्परादेखि चल्दै आएको चलन, रहनसहन, नैतिक अनुशासन, परिवेशलाई वर्तमान समयमा पनि निरन्तता दिई आउदो पि“ढीलाई हस्तान्तरण गर्दै जानुका साथै सांस्कृतिक सम्पदाहरूको जोहो गर्ने जिम्मेवारवोध गुठीले गर्ने बताउँदै गुठी कुनै पनि व्यक्तिगत फाइदाका निम्ति नचल्ने उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरु काजल थापा, रूपा धिमाल, गौरव लामिछाने, बिना वनमाला र प्रनिता अधिकारीले आफ्नो समूहबाट अवलोकन गरिएका सामुदायिक संस्थाहरु जस्तै सामुदायिक वन, सहकारी, धार्मिक स्थल, विद्यालय, अस्पतालहरूको बारेमा छोटो प्रस्तुति दिएका थिए ।
विद्यार्थी सरला लवजूको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु ज्योतिका शिल्पकार र मालती पराजुलीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *