सहकारी नीतिहरूको परिमार्जन गर्न अन्तरक्रिया

अर्थ/वाणिज्य विशेष समाचार समाचार

प्रेम प्रजापति

भक्तपुर, १५ जेठ

सहकारी नीतिहरूको परिमार्जन गर्न अन्तरक्रिया

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विद्यमान विभिन्न नीतिहरूलाई समय सापेक्ष परिमार्जन गर्ने उद्देश्यले संस्थाको समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरूबिच शनिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ।
जेठ १२ गतेसम्ममा कुल वासलात ३ अर्ब ३६ करोड, ४६ लाख ४१ हजार ७३८ रूपैयाँ २७ पैसा रहेको भक्तपुर साकोसलाई नीतिको आधारमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले आयोजित सो अन्तरक्रिया कार्यक्रमको उद्घाटन संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले गरेको थियो ।

देशको संविधान नबाझिने गरी सहकारीको नीति, नियम र विनियम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले समय अनुकूल नीति निर्णय भए संस्था सहज ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे।

विदेशमा रोजगारी पठाउने सरकारको एक नीतिले आज ८० लाख युवाहरू विदेसिएको उल्लेख गर्दै उनले त्यही नीतिको कारण नेपाली भूमि बाँझो रहेको, उत्पादन शून्यसरि भई आयात बढिरहेको बताए।

नीतिको आधारमा नै ऐन कानुन बन्ने उल्लेख गर्दै उनले शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भन्ने नीतिको आधारमा ऐन, नियम र कार्यक्रम बनेको हुन्छ भने।

सहकारी अभियानकर्ता भरत सिंह थापाले सहकारी संस्थाहरू कठिन स्थितिमा गुज्रिरहेको बेला भक्तपुर साकोस सहज ढङ्गले अघि बढिरहेकोमा धन्यवाद दिँदै सुशासनमा चल्ने सहकारी बलियो र जनताको विश्वासिलो संस्था हुने विश्वास व्यक्त गरे।

सहकारी मूल्य र मान्यताको आधारमा चलेको सहकारी संस्थाले देश विकास र रोजगारीमा महत्वपूर्ण काम गर्ने बताए ।

संस्थाका सभापति एवम् अन्तरक्रिया कार्यक्रमका अध्यक्ष बलराम प्रजापतिले अन्य सहकारी, उद्योग, व्यापार, व्यवसायको स्थिति नाजुक भइरहेको बेला सहकारी भावना, प्रभावकारी नेतृत्व, इमानदारिता, दक्ष जनशक्ति, सदस्य सहभागिता र सफलताले भक्तपुर साकोसले नाउँ पाएको चर्चा गर्दै संस्था नीति, विधि र प्रक्रियामा जान अन्तरक्रिया फलदायी हुने बताए।

कार्यक्रममा सत्यनारायण साय्जुले कर्मचारी प्रशासन नीति, नीभा कोजुले आर्थिक प्रशासन नीति, अञ्जना छुस्याबागले ऋण नीति, दिनेश धौबञ्जारले बचत नीति तथा दयालक्ष्मी धन्छाले शेयर र सदस्य नीतिबारे प्रस्तुतीकरण गरेको थियो ।

संस्थाका सदस्य जगन्नाथ प्रजापतिले संस्था व्यक्तिमुखी होइन नीतिमा आधारित रहेर चल्नुपर्ने बताए भने अर्का सदस्य विष्णुकुमार प्रजापतिले अन्तरक्रिया कार्यक्रमको महत्वबारे चर्चा गरे।

दोस्रो चरणको कार्यक्रममा अन्तरक्रियाको निचोड निकाल्न विभिन्न समितिलाई जिम्मा दिइएको थियो । त्यसअनुसार जयराम काेजू, विकास प्रजापति, चन्द्रलक्ष्मी दुवाल, रिता दुवाल र प्रेम प्रजपतिले सुझाव सहित प्रस्तुत गरेकाे थियाे ।

सामूहिक छलफलपछि आफ्नो सुझावसहितको निचोड प्रस्तुत गरिएको थियो । उक्त संस्थामा हालसम्ममा निक्षेप २,८४,८०,७१,३६६।८४, ऋण लगानी २,७६,४९,४५,९८०। तरलता ४६,९२,३४,४४०।९३, कुल आम्दानी २९,५२,१६,२२२, ब्याज खर्च २५,४३,६६,२३२ र कुल नाफा २,९५,३४,२२१ रूपैयाँ रहेको छ ।

जेठ १२ गतेसम्ममा संस्थामा सदस्य सङ्ख्या ८,२२० र बाल बचत सदस्य १,३०० रहेका छन् । हाल संस्थामा १३६८ जना ऋणी सङ्ख्या रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *