बेथिति र विकृतिहरूबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो

विचार विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १५ जेठ

बेथिति र विकृतिहरूबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो

(विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा Third National Conference, A Multidisciplinary Approach to Address Current Challenges विषयक दुईदिने राष्ट्रिय सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गरेको मन्तव्य)

विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यसरी ख्वप कलेजले राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूले हरेक वर्ष विभिन्न विषयहरूमा राष्ट्रिय सम्मेलनहरूको आयोजना गर्दै आएका छन् । आज र भोलि चल्ने यो सम्मेलन पनि त्यसैको सिलसिला हो ।
विश्वविद्यालयहरू अनुसन्धानको केन्द्र बन्नुपर्छ भन्नेमा हामीले निरन्तर जोड दिँदै आएका छौँ । आज संसारमा आर्थिकरूपले अगाडि बढेका संरा अमेरिका र चीनजस्ता देशहरू अनुसन्धानकै कारण समृद्ध भएका हुन् । संरा अमेरिकाले वार्षिक ५ खर्ब डलर र चीनले ४ खर्ब डलर अनुसन्धानमा खर्च गर्ने गरेको तथ्याङ्क छ ।

सन् २०२१ मा संसारमा ३४ लाख पेटेन्ट दर्ता भएकोमा १६ लाख चीनको मात्रै थियो र दोस्रोमा संरा अमेरिका र तेस्रोमा जापान भएको देखाइएको छ । गुगल, आइफोन, फेसबुक आज संसारभर चलेका छन् । त्यसबाट अमेरिकाले वार्षिक खरबौँ डलर कमाइरहेको छ । चीन र अमेरिकाबिच अहिले बौद्धिक सम्पत्ति आयात निर्यातमा पनि अरबौँ डलर खर्च गरिरहेका हुन्छन् । चीनले अमेरिकाबाट धेरै बौद्धिक सम्पत्ति आयात गर्ने गरेको देखिन्छ । सन् २०१७ मा चीनले अमेरिकाबाट ७.२ अर्ब डलरको बौद्धिक सम्पत्ति खरिद गरेको थियो भने अब चीनले त्यही मात्रामा अमेरिकालाई बेच्न थालेको बताइन्छ ।
१ अर्ब ४० करोड जनसङ्ख्या भएको चीनले खाद्यान्नमा आत्मनिर्भर भएर विदेश निर्यात गर्ने अवस्थामा पु¥याउनु व्यापक अनुसन्धानकै परिणाम हो । सन् १९४९ मा समाजवादी क्रान्तिको बेला झन्डै ५० करोड जनता गरिबीको अवस्थामा रहेको भनिएको चीन सन् २०२१ सम्म पुग्दा गरिबीमुक्त घोषणा गर्दै आर्थिकरूपमा संसारको दोस्रो अर्थतन्त्र भएको देशको रूपमा विकास गर्नु सामान्य विषय होइन । १९४९ ताका १ हेक्टर जमिनमा १५० केजी धान फल्ने जग्गामा अहिले १५ हजार केजी धान फलेको सुन्दा जो कोहीलाई आश्चर्य लाग्छ ।

नेपाल सरकारले अनुसन्धानको क्षेत्रमा खासै चासो देखाएको छैन । विश्वविद्यालयहरू बेरोजगार उत्पादन केन्द्र बन्दै छन् । शासक दलहरू कमिसन आउने क्षेत्रमा मात्रै ध्यान दिने गर्छन् । नाफा र फाइदा हुने भए बिष बेच्न लाइसेन्स दिन पनि पछि पर्ने छैनन् । पैसाको लागि नेपाली नागरिकलाई विदेशी बनाउन तयार हुने शासकहरूबाट नेपाली जनताले के आशा गर्ने ?

हाम्रा विश्वविद्यालयहरूले हाम्रा विद्यार्थीहरूको विश्वास जित्न सकेनन् । समयमा परीक्षा नहुने, परीक्षाफल ढिला निस्कने र गलत परीक्षाफल प्रकाशित हुने गरेको कारण धेरै विद्यार्थीहरूले उच्च शिक्षाको लागि विदेश रोज्न थालेका छन् । यसको जिम्मेवार को हो ?

१० महिनामा ८० हजारभन्दा बढी विद्यार्थीहरू शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर विदेशमा उच्च शिक्षाको लागि गएको र ती विद्यार्थीहरूबाट ६७ अर्बभन्दा बढी रकम बाहिरिएको समाचार सार्वजनिक भएको छ । विगत ३ वर्षको अवधिमा चिकित्सा शिक्षा अध्ययनको लागि ३,२२२ जना विद्यार्थी विदेसिएको तथ्याङ्कले हाम्रो देशको चिकित्सा शिक्षाको अवस्थालाई प्रस्ट पार्छ ।

यही वर्ष पूर्वाधार नपुगेको भन्दै ७३ वटा नर्सिङ कलेजहरूलाई विद्यार्थी भर्ना गर्न रोक लगाएको समाचार आएको छ । सीटीईभीटीबाट सम्बन्धन लिई सञ्चालनमा रहेका नर्सिङ कलेजहरूलाई १०० बेडको आफ्नै अस्पताल नभएको भन्दै भर्नामा रोक लगाएको हो । अब देशभर यस वर्ष जम्मा ३४ वटा मात्रै नर्सिङ कलेज सञ्चालनमा रहनेछन् । सरकारको त्यस निर्णयबाट २९२० जना विद्यार्थीहरू नर्सिङ पढ्नबाट वञ्चित हुने देखिएको छ ।

नेपालको यही अवस्थालाई ध्यानमा राखेर भारत सरकारले आफ्नो शिक्षा नीतिमै संशोधन गरी ३ वर्षे नर्सिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । सरकारको गलत नीतिको परिणाम नर्सिङ पढ्न पनि वार्षिक हजारौँ विद्यार्थीहरू भारतलगायतका मुलुकमा जाने भए । त्यसबाट पनि नेपालको अरबौँ रकम बाहिरिने देखिएको छ ।
स्मरणरहोस्, गत वर्ष भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिकअन्तर्गत नर्सिङ कक्षा बन्द गराएको थियो । यो वर्ष ख्वप अस्पताललाई १०० शøयाको स्तरोन्नति गरी पुनः सञ्चालन गरेका छौँ । एक वर्ष बन्द गर्नुपर्दा भक्तपुर नपाले करोडौँ रूपैयाँ क्षति व्यहोर्नुपरेको छ ।

देश आर्थिकरूपमा टाट पल्टिने अवस्थामा पुग्दै छ । कर्मचारीलाई तलब खुवाउन, सामाजिक सुरक्षा भत्ता दिन र कर्मचारीलाई पेन्सन खुवाउनसमेत नपुग्ने अवस्थामा पुगेको समाचार पनि आउँदै छ । चालु आ.व. को अन्तिम चौमासिकमा सरकारले स्थानीय तहको लागि विनियोजित बजेटमध्ये ५० प्रतिशत बजेट कम पठाउने भनी पत्राचार गरेको छ । देशका ७ वटै प्रदेशले चालू आ.व.भन्दा आगामी वर्षको लागि २५ प्रतिशत कम बजेट ल्याउने बताइरहेका छन् ।
व्यापारघाटा, वैदेशिक ऋणले नेपाल उठ्नै नसक्ने अवस्थामा पुग्दै छ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, उत्पादनमूलक कुनै पनि क्षेत्रमा सुधार छैन । यसको जिम्मेवार को हो ? अहिले जनता प्रश्न गर्दै छन् ।

ख्वप कलेज भक्तपुर नपाबाट सञ्चालित कलेज हो र यसको उद्देश्य देश र समाजको लागि समर्पित जनशक्ति उत्पादन गर्ने हो । देशमा भइरहेको बेथिति र विकृतिहरूबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो । त्यसको निम्ति भक्तपुर नगरपालिका निरन्तर प्रयासरत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *