विद्यालयको माध्यमिक तह राम्रो हुनु भएको शैक्षिक जग बलियो हुनु हो : प्रमुख प्रजापति

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ राममन्दिरमा अवस्थित तारा माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवक कार्यक्रमको शुक्रबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकास र प्रगतिको निम्ति विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै तारा मावि भक्तपुरको प्रतिष्ठित सामुदायिक विद्यालयको रुपमा स्थापित रहेको बताए ।
सामुदायिक विद्यालयहरुमा विषय शिक्षकको अभाव, पाठयपुस्तक समयमा विद्यार्थीको हातमा नपुग्ने र शिक्षकहरुले इमानदारीपूर्वक काम नगर्दा अहिले देशभरका सामुदायिक विद्यालयहरुमा भर्ना दर घट्दो क्रममा रहेको नगर प्रमुख प्रजापतिले बताए ।


नेपालले आर्थिक उदारीकरणको नीति लिएसँगै शिक्षाजस्तो आधारभूत विषयलाई पनि किनबेचको वस्तुको रुपमा लिइएको बताउँदै उनले विद्यालय तह राम्रो हुनु भनेको उनीहरुको शैक्षिक जग बलियो र सुदृढ हुनु हो भने ।
भक्तपुर नपाले सामुदायिक र निजी दुवै विद्यालयहरुको शैक्षिक स्तरलाई समान ढंगले अगाडि बढाउने उद्देश्यले काम गर्दै आइरहेको बताउँदै उनले सोही क्रममा विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न र पठन संस्कृतिको विकास गर्न नपाले नगरस्तरीय परीक्षा सञ्चालन गरेको हो भने ।
विद्यालयका संस्थापक सदस्य उद्धव सुजखूले देशको लागि योग्य नागरिक तयार पार्ने अभियानमा विगत ४३ वर्षदेखि अनवरत र अविछिन्न रुपमा लागि परेको बताउँदै तारा मावि समुदायमा आधारित भक्तपुरको सामुदायिक विद्यालय भएको बताए ।
विद्यालयका प्रअ प्रेमलक्ष्मी त्वायनाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तारा माविको शैक्षिक तथा भौतिक विकासमा विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, अभिभावक र स्थानीय जनताको उल्लेखनीय भूमिका रहेको बताए ।
कार्यक्रममा नेक्राशिसंघ भक्तपुर नगर अध्यष गणेशराम थुसा र पूर्व प्रअ पुष्पलाल सुजखुले विद्यालय स्थापनाकालदेखि तारा माविको शैक्षिक अवस्था स्तरीय रहेको उल्लेख गर्दै विद्यालयले सांस्कृतिक र व्यवहारिक चेतनास्तर उठाउनुपर्ने तथा विद्यालयमा विद्यार्थी संख्याको वृद्धिसँगै शिक्षक दरबन्दी अपुग भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा लेखा शाखा प्रमुख रबिन्द्र सुजखूले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका शिक्षक श्याम ख्याजूले धन्यवादज्ञापन मन्तव्य र शिक्षिका सृजना ङाखुशीले स्वागत मन्तव्य राखेको थियो ।
सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालयका वर्ष शिक्षक, २५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारी र विद्यालयको आयोजनामा २१ विधामा भएको खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *