कानुन व्यवसायीहरुले बुद्धिजीवीको भूमिका निभाउन सक्नुपर्ने

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ फागुन


कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर जिल्लाका कानुन व्यवसायीहरुको भेला बुधबार सम्पन्न भयो । यही फागुन २० गते शनिबार हुन गइरहेको भक्तपुर जिल्ला बार एशोसिएसनको निर्वाचनका सन्दर्भमा उक्त एशोसिएसनको निर्वाचनका सन्दर्भमा उक्त भेला आयोजना गरिएको हो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, कानुन अध्ययन समाजका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सुनिल प्रजापतिले पेशागत संघ संगठनको निर्वाचनमा भाग लिनु प्रजातान्त्रिक अधिकारको अभ्यास र वैचारिक संघर्ष भएको बताए ।
कानुन व्यवसायीहरुले नैतिकता र आचारसंहितामा रहेर आफ्नो पेशाअनुसारको कार्य गर्नुका साथै समाजलाई प्रगतितिर लाने बुद्धिजीवीको भूमिका समेत निभाउन सक्नुपर्ने उनले बताए ।
पदको निम्ति भागबण्डामा जान नहुने बताउँदै संस्थापक अध्यक्ष प्रजापतिले भागबण्डाको राजनीतिले प्रजातन्त्र, आलोचना र विरोधको संस्कृतिलाई कमजोर पारेको प्रष्ट पारे ।
उनले पुँजीवादी व्यवस्था भ्रष्टाचारको मुहान भएको बताउँदै पुँजीवादी व्यवस्थाको न्यायलय शुद्ध र भ्रष्टाचाररहित हुने कुरा सोच्न नसकिने बरु भ्रष्टाचार र पुँजीवादी व्यवस्थाको विरोधमा लाग्नुपर्ने बताए ।
भेलामा कानुन अध्ययन समाज केनद्रीय समितिका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले शासक पार्टी निकट ठूला संगठनहरुले कानुनी शासन, देश र जनताको हितमा विषयलाई उत्थानसम्म गर्न नसकेको बताए । ती ठूला संगठनका र वरिष्ठ भन्नेहरु पदका निम्ति असैद्धान्तिक गठबन्धन र मोलमोलाइमा लाग्ने गरेको उनले बताए ।
उनले न्यायालयमा दलीय राजनीतिक भागबण्डा हुँदा न्यायालय पक्षपातरहित र विवादमुक्त हुन नसकेको हो भने ।
आयोजक समितिका अध्यक्ष एवम् भक्तपुर बारको निर्वाचनमा समाजको तर्फबाट अध्यक्ष पदका प्रत्यासी अधिवक्ता राजु कैतीले बार कब्जा गरेर बसेकाहरुले निर्वाचन जित्नका लागि आफू निकट कानुन व्यवसायीहरुलाई मात्र सदस्यता दिने, अवसर र पदको आशवासन दिने फोहोरी खेल खेलिरहेको बताए ।
कार्यक्रममा अधिवक्ताहरु राधेश्याम सुवाल, महेन्द्र खायमली र मनज ज्याख्वलगायतले बोलेको थियो ।
भक्तपुर बारको निर्वाचनमा कानुन अध्ययन समाजको तर्फबाट अध्यक्षमा राजु कैती, उपाध्यक्षमा शिवराम बोहजू, सचिवमा गम्भीरमान ज्याख्व, कोषाध्यक्षमा मनज ज्याख्व र सदस्यहरुमा न्हुछेराम सिबन्जार, प्रेम प्रजापति, सुन्दर राजचल, बाबुकाजी गाइँजु र लक्ष्मीप्रसाद दुवालले उम्मेद्वारी दिएको छ । त्यस्तै केन्द्रीय पार्षद्मा राधेश्याम सुवाल र महेन्द्र खायमलीले उम्मेद्वारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *