न्यूज अपडेट संवाददाता
भक्तपुर, ६ भाद्र
‘काठमाडौं स्कूल अफ ल’ का स्नातक तहका विद्यार्थीहरुले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ । भ्रमणमा आएका विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्दै भक्तपुर नपाका उपप्रमुख एवम् कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नपाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको आवश्यकता अनुसार नगर सभाबाट २२ ओटा ऐन, ३ ओटा नियमावली, ६ ओटा विनियम, १२ ओटा कार्यविधि, ४ ओटा निर्देशिका र १ ओटा नीति गरी हालसम्म ४८ ओटा कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएका बताए ।
भक्तपुर नपाले यहाँको कला संस्कृतिक र सभ्यता जोगाउन भरमग्दुर प्रयास गर्दै आइरहेको बताउदै भक्तपुरलाई देशकै नमुना नगरको रुपमा स्थापित गर्न नेपाल मजदुर किसान पार्टीको अग्रणी भूमिका रहेको उनले बताए ।
जनप्रतिनिधि, कर्मचारी र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा आई पुग्न सम्भव भएको बताउदै उपप्रमुख जोशीले संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्दै, त्यसको कार्यान्वयन र व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्य जस्ता विषयहरु न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख काममा जोड दिँदै आएको प्रष्ट पार्न पारे ।
भक्तपुर नपाका उपनिर्देशक तथा न्यायिक समितिका सदस्य सचिव गणेशलाल फोँजुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको संयोजकत्वमा गठित न्यायिक समितिले हालसम्म गर्दै आएको कार्य सम्पादनबारे अवगत गराउदै स्थानीय तह जनताको नजिकको सरकार भएको बताए ।
त्यस्तै भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय दिँदै भक्तपुर मौलिकता नगुमाएको, आर्थिक नियमितता भएको सहरको रुपमा स्थापित, सम्पदा पुनःनिर्माणमा जनसहभागिता जुटाई काम गर्ने देशकै उदाहरणीय नगर भएको बताए ।
कार्यक्रमपश्चात ‘काठमाडौं स्कूल अफ ल’ का विद्यार्थीहरुले भक्तपुर नपाको इजलास कक्ष, शाखा, उपशाखाहरुको अवलोकन गरेका थिए ।