क्युवाप्रति श्रमजीवी नेपाली जनताको ऐक्यबद्धता

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ फागुन

नेपालका लागि नवनियुक्त क्युवाली राजदूत अलेहान्द्रो सिमान्कस मारिनको सम्मानमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार ‘स्वागत कार्यक्रम’ भयो ।

राजदूत मारिनलाई स्वागत गर्दै पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालले क्युवाली पर्यटन उद्योगबाट सिक्नुपर्ने उल्लेख गर्दै क्युवाली योजना निर्माणबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । नेपाली श्रमजीवी वर्गको तर्फबाट समाजवादी क्युवाप्रतिको ऐक्यबद्धता प्रकट गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “हाम्रो तर्फबाट क्युवाप्रतिको ऐक्यबद्धतालाई अगाडि बढाउँदै जानेछौँ ।”
‘महान् साथीहरूबेगर महान् उपलब्धिहरू हासिल गर्न सकिन्न’ भन्ने जोसे मार्टीको विचार राख्दै राजदूत मारिनले नेपाल मजदुर किसान पार्टीलाई क्युवाको एक असल मित्र भएकोमा धन्यवाद दिनुभयो । राजदूत मारिनले भन्नुभयो, “क्युवामा संरा अमेरिकी आक्रमणको सिलसिला लामो छ । उसले ६०० पटकभन्दा धेरैचोटि क्रान्तिका नायक फिडेल क्यास्त्रोको हत्या गर्ने प्रयास ग¥यो । भोका जनतालाई क्रान्तिविरुद्ध प्रतिपक्षीको रूपमा उभ्याउन उसले ६० वर्षदेखि नाकाबन्दी लगाएको छ । यो नाकाबन्दी खासमा क्युवाविरुद्ध आर्थिक युद्ध हो ।”

कार्यक्रममा राजदूत मारिनले क्युवाको अर्थतन्त्र, समाज र विदेश नीतिबारे प्रस्ट पार्नुभयो । उहाँको भनाइ थियो, “क्युवामा प्रत्येक नागरिकलाई उच्च जीवनस्तर दिने प्रयास गरिएको छ । शिक्षा र स्वास्थ्य निःशुल्क छ । गाउँका जनतालाई सामाजिक सुरक्षा दिइन्छ । क्रान्तिले उनीहरूको जीवनमा ठूलो सुधार ल्याएको छ । क्रान्तिले महिलाको स्थितिमा आमूल परिवर्तन ल्यायो । भूमिसुधारले किसानको जीवनमा क्रान्ति ल्यायो । क्रान्तिअघि क्युवाको ठूलो भूभाग देशीविदेशी ठूला कम्पनीहरूको हातमा थियो । किसानहरू तिनीहरूको खेतमा मजदुरी गर्थे । क्रान्तिले किसानलाई जमिन उपलब्ध बनायो ।”

विगत दुई तीन वर्षयता क्युवाली अर्थतन्त्र ‘कोरोना भाइरस’ र ‘ट्रम्प भाइरस’ बाट प्रभावित छ । कोरोना भाइरसले गर्दा क्युवाली अर्थतन्त्रमा ११ प्रतिशत गिरावट आएको बताउँदै राजदूत मारिनले भन्नुभयो, “हाम्रो अर्थतन्त्र छिट्टै पुनः स्थापित हुँदै छ ।” उहाँले क्युवाली पर्यटन उद्योग, खानी उद्योग, कृषि र उन्नत औषधि उद्योगबारे चर्चा गर्नुभयो । स्थानीय निकायलाई स्वायत्तता प्रदान गरेको हुनाले क्युवाका स्थानीय तहहरू चुस्त भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “साम्राज्यवादको विरोध, स्वतन्त्रता सङ्घर्षमा लागिरहेका साम्राज्यवादविरोधी मुलुकका जनताप्रतिको ऐक्यबद्धता र मित्रता तथा अन्तर्राष्ट्रिय सहकार्य नै क्युवाली विदेश नीतिको मूल मर्म हो ।” ०७२ सालको भूकम्पमा नेपाललाई मेडिकल बिग्रेड पठाएर सघाउन सकेकोमा खुसी व्यक्त गर्दै राजदूत मारिनले भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले कोरोना महामारीका क्रममा क्युवाले विश्वभरि डाक्टरहरू पठाएर विश्वका जनताको सेवा गरेको बताउनुभयो । सहयोग गर्ने नाममा संरा अमेरिकाले क्युवालाई आफ्नो अधीनमा राख्ने षड्यन्त्रको अस्वीकार गरेको स्मरण गर्दै उहाँले एमसीसी सम्झौतालाई त्यसरी नै लत्याउन नेपाली जनताले क्युवाबाट सिक्नुपर्ने बताउनुभयो । क्युवाली क्रान्तिले नेपाली महिलाहरूलाई पनि उत्प्रेरित गरेको बताउँदै उहाँले तथ्याङ्क उल्लेख गर्नुभयो, “बौद्धिक सम्पत्तिको स्वामित्वमा क्युवाली महिलाको सहभागिता ५३ प्रतिशत छ । जब कि संरा अमेरिकी महिलाहरूको सहभागिता १६ प्रतिशत छ । औसत भने १७ प्रतिशत छ । साथै क्युवाली मेडिकल क्षेत्रमा ७० प्रतिशत महिलाहरू छन् । रोगी क्युवालीहरू महिलाहरूलाई देवदूत भन्ने गर्छन् ।”

स्वागत कार्यक्रममा अध्यक्ष रोहितले क्युवाली कम्युनिस्ट पार्टीका महासचिव मिगुएल डायज कानललाई नेपाली जनताको अभिवादनका साथै उपहारको रूपमा केही पार्टी प्रकाशन र मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यस्तै राजदूत मारिनले अन्तर्राष्ट्रिय मित्रताको निम्ति क्युवाली मैत्री समितिका अध्यक्ष फर्नान्डो गोन्जालेजको तर्फबाट अध्यक्ष रोहितलाई ‘मित्रताको पदक’ एवम् सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले सञ्चालन गर्नुभएको थियो । उहाँले राजदूत मारिनको मन्तव्यलाई नेपालीमा उल्था गरेर प्रस्तुत गर्नुभएको थियो ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *