अध्यक्ष बिजुक्छेँद्वारा ख्वप अस्पताल निरीक्षण ः ख्वप अस्पतालमा आइतबारदेखि अन्तरङ्ग सेवा सुरू

विशेष समाचार समाचार स्वास्थ्य

 

भक्तपुरको ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतबारदेखि अन्तरङ्ग सेवा सुरु गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित), नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवाल र बागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आइतबार निरीक्षण गर्नुभएको हो ।

भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेको हुँदा कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो ।

अस्पताल निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले स्थानीय तहहरू आत्मनिर्भर भएर जनताको सेवामा अघि बढ्नु संघीय र स्वायत्तताको सकारात्मक पक्ष भएको बताए।

उनले भक्तपुर नपाले जस्तै अन्य स्थानीय तहहरूले सरकारको मुख ताकेर नबसी आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गरी जनतालाई सेवा प्रदान गर्न सके केन्द्रीय र प्रदेश अस्पतालमा भइरहेको बिरामीको चाप घट्ने बताए।

अध्यक्ष बिजुक्छेँले भन्ने, ‘अस्पतालका चिकित्सक र अन्य जनशक्तिले शिष्ट व्यवहारले बिरामीको छिटो उपचार हुनुको साथै जनताको गुनासो समेत कम हुनेछ ।’

उनले ख्वप अस्पताल सञ्चालनमा आएपछि सरकारी तथा निजी अस्पतालसँग तुलना गरी कमी कमजोरीलाई लिएर आलोचनासमेत हुन सक्ने हुँदा यसप्रति अस्पताल व्यवस्थापक र प्रशासक सचेत हुँदै अस्पताल व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुुवालले अस्पतालले अझ बढी जनताको सेवा गर्न सबै चिकित्सक तथा कर्मचारीहरुले इमान्दारीपूर्वक काम गर्नुपर्ने र अस्पतालमा आवश्यक अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सुझाव दिएको थियो ।

नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्याको बनाउने तयारी गरिरहेको र ख्वप अस्पतालले दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको बताए।

ख्वप अस्पतालले ५ शैय्याको आइसीयु र २५ शैय्याको एचडीयु सहित आजबाट बिरामी भर्ना समेत सुरु गरेको अस्पताल स्रोतले जनाएको छ । हाल ख्वप अस्पतालबाट इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

ख्वप अस्पतालले आ.व. २०७७/७८ मा ४० जिल्लाका १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको तथ्यांक छ भने २०७८/७९ को ६ महिनामा ८३,२३५ जनालाई उपचार सेवा प्रदान गरेको छ ।
ख्वप अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्य अनुसार दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ । साथै वडा वडामा स्वास्थ केन्द्रहरू निर्माण गरी नगरबासीहरूलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवति स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ९ नंं. वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्व, ७ नं. वडाका वडाध्यक्ष उकेश कवां, ख्वप अस्पतालका डा. अमर प्रजापति, डा. मजेशप्रताप मल्ल, अस्पतालका व्यवस्थापक विश्वजित प्रजापति, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *