बहिष्कारका बीच पत्रकार महासंघ भक्तपुरको अधिवेशन सम्पन्न, चार पत्रकार सम्मानित

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ जेठ


पत्रकारहरुबीच नैतिकतामा आएको संकटकै कारण पत्रकारिताको बदनाम भइरहेको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले बताएको छ । प्रेस युनियन, भक्तपुरले गरेको बहिष्कारका बीच पत्रकार महासंघ, भक्तपुर शाखाको ९औं अधिवेशन तथा साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले राजनीतिक दलभित्र कम्युनिष्ट नाम राखेर कमाउने काम गरिरहेका पार्टी विरुद्ध अन्तिम हदसम्म लड्ने बताएको छ ।


उनले वास्तविक पत्रकारभन्दा यूट्युवेहरु सक्रिय भइरहेको अवस्थामा पत्रकारहरुले सत्य तथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धा गर्न जोड दिए । लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठेरो आएमा पत्रकारितामार्फत नै सुल्झाउनुपर्ने बताउँदै उनले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्ने औंल्याए ।
दैनिक हजारौंको संख्यामा बैदेशिक रोजगारीमा गएका जनतालाई रोक्न सञ्चारमाध्यमहरुले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्ने कार्यक्रमका विशेष अतिथि एवं वागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठको भनाइ छ । जनतालाई सचेत पार्ने जमात पत्रकारिता भएकाले सकारात्मक सोच पैदा हुने समाचार सम्प्रेषण गर्न उनको जोड छ ।


पत्रकार महासंघ समस्याबाट नभाग्ने बताउँदै जस्तोसुकै समस्याको समाधानका लागि अघि बढ्न पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा बताउँछन् । देशभरका १३ हजारबाट ७/८ हजारको संख्यामा पत्रकारहरुको शुद्धीकरण गर्नु पनि ठूलो काम भएको उनको भनाइ छ ।


प्रमुख अतिथि थापाले वर्षका उत्कृष्ट पत्रकारहरु माथवरसिंह बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, पूर्णभक्त दुवाललाई स्व. भगवान राजकुमार महर्जन स्मृति पुरस्कार, चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।


कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र था श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि वविन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष सुजन झा, काठमाडौं शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले अधिवेशन र साधारणसभाको सफलताको शुभकामना दिए । कार्यक्रममा ‘भक्तपुरको पत्रकारिता’ बुलेटिनको विशेष अतिथिहरुबाट विमोचन भएको थियो ।


महासंघको आन्तरिक द्वन्दका कारण शनिवार भएको उक्त अधिवेशनबाट निर्वाचनको छिनोफानो गर्न सकेको छैन । अधिवेशन सम्पन्न भएको एक महिनाभित्र गर्नुपर्ने प्रावधान अनुसार गरिसक्ने महासंघका भक्तपुर शाखा अध्यक्ष जगतकृष्ण श्रेष्ठ बताउँछन् । उनले महासंघभित्रको घरझगडाकै कारण कार्यकालभित्र कुनै विशेष कार्यक्रमहरु गर्न नसकेको स्वीकारे । उनले वहिष्कारवादीले अधिवेशनको वहिष्कार गरेपनि सबैले साथ सहयोगले कार्यक्रम सम्पन्न गरिछाडेको बताए । बन्दसत्रबाट विभिन्न प्रस्तावउपर छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *