‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित सम्पदा पदयात्रा

कला/साहित्य मनोरञ्जन विचार विशेष समाचार समाचार

न्यूजअपडेट संवाददाता
भक्तपुर, १५ पुस

भक्तपुर नगरपालिकाको आयोजनामा भएको ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित सम्पदा पदयात्रा शनिबार भव्य कार्यक्रमबीच सम्पन्न भयो । भक्तपुर नपाले योमरी पुन्हीको अवसर पारेर नगरका विभिन्न क्षेत्रमा रहेका बहाबहीहरु अवलोकन गराउने उद्देश्यले योमरी उत्सव र सम्पदा पदयात्राको आयोजना गरेको हो ।


नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पदा पदयात्राको समापन कार्यक्रम सम्पन्न हुनुका साथै सोही अवसरमा सांसद सुवालले भक्तपुर नपाले नेपालभाषाबाट प्रकाशित गरेको प्रगतिशील भजन म्येँ मुना नामक पुस्तक विमोचन गरे ।
कार्यक्रममा बोल्दै सांसद सुवालले ख्वप विश्वविद्यालय सञ्चालन र भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन सरकारसँग निरन्तर पहल गरिरहेको बताउँदै भक्तपुरको भाषा र कला, संस्कृति सबैको साझा सम्पत्ति भएको बताए । २०५८ सालबाट नै नेमकिपाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन सरकारसमक्ष पहल गर्दै आइरहेको उनले स्मरण गरे ।


नेपाल बहुजातिय, बहुभाषिक र बहुसंस्कृति देश भएको र यहाँ सबै जातजाति र भाषाभाषीका जनताहरु एकआपसमा मिलिजुली भाइचारा सम्बन्ध कायम गरी बसिरहेको बताए ।
छिमेकी देश भारतले बुद्ध भारतमा जन्मेको भनी दुष्प्रचार गर्दा पनि नेपाल सरकार मौन बस्नुमा सरकारको औचित्यमाथि प्रश्न उठेको बताउँदै उनले नेपाली जनशक्ति विदेश पठाएर रेमिट्यान्सको भरमा देश सञ्चालन गर्ने सरकारको नीतिको विरोध गर्नुपर्ने बताए ।
इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको अमानवीय नरसंहारको नेमकिपाले देशव्यापी रुपबाटै विरोध कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै उनले अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेष्टाइनमाथि हमला गरिरहेको प्रष्ट पारे ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षण र लोपोन्मुख अवस्थामा रहेका सम्पदाहरुको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले विविध गतिविधिहरुलाई जोड दिँदै आइरहेको बताए ।


भक्तपुरमा रहेका बहाबहीहरु आफैमा एउटा अमूल्य सम्पत्तिको रुपमा रहेको चर्चा गर्दै उहाँले बौद्ध दर्शनलाई अन्धविश्वासको विरुद्ध र भौतिकवादी दृष्टिकोण भएको दर्शनको रुपमा व्याख्या गरे ।
प्रमुख प्रजापतिले १२ औं देखि १५ औं शताब्दीसम्म नेपालमण्डलको राजधानीको रुपमा भक्तपुरमा थुप्रै मल्लकालीन सम्पदाहरु रहेको ती सम्पदाहरुको संरक्षण सबैको साझा दायित्व भएको बताए ।
बहाबही चिनाउने उद्देश्यले आयोजना गरिएको सम्पदा पदयात्राले नेपालमा बौद्ध धर्म र दर्शनबारे खोजमूलक अध्ययन अनुसन्धानमा समेत टेवा पुग्ने उनले बताए ।
त्यस्तै बौद्ध दर्शनका अध्येता डा. पुष्परत्न शाक्यले भक्तपुर नपाको आयोजनामा भएको भक्तपुरका प्राचिन बहाबही अवलोकन कायएक्रम बौद्ध दर्शन र संस्कृतिप्रति जागरण ल्याउने ऐतिहासिक कदम भएको बताए ।
भक्तपुर नपाले जनताका माझ गरेका प्रतिबद्धताअनुसारको काम गरिरहेको उल्लेख गर्दै उनले संरक्षणको अभावमा रहेका बहाबहीको अस्तित्व हराउँदै अवस्था सिर्जना हुन नदिन गरेको यस किसिमको प्रयास सराहनीय भएको बताए ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भनपा ७ का वडाध्यक्ष उकेश कवां र भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सम्पदा पदयात्रामा सहभागी बहाबहीका प्रतिनिधि र गुँला बाजा समूहका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरे ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरका ठाउँ ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्री केन्द्रहरु समेत राखिएको थियो । ¥यालीमा हजारौं संख्यामा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको टौमढीमा पदयात्राको उद्घाटन गरेको थियो । नगर प्रमुख प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिहरु, कर्मचारी, विद्यालयका शिक्षक, बहाबहीका प्रतिनिधिहरु, स्वयम्सेवक, संघ संस्थाका प्रतिनिधि, खेलकुद समिति, गुँला बाजा समूह, नगरबासीहरुलगायतको सहभागितामा भनपा वडा नं. ५ टौमढीबाट सुरु भएको सम्पदा पदयात्रा गोल्मढीको यातामा पुगी सम्पन्न भएको थियो । भक्तपुरको टौमढीबाट सुरु भएको सम्पदा पदयात्रा अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो), झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *