युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी पनि दलाल

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

माेरंग, ९ असाेज

युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी पनि दलाल

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग देशको समसामयिक विषयमा नेमकिपा मोरङको आयोजनामा एक भेलाबिच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएकाे छ ।

कार्यक्रममा अध्यक्ष रोहितले देश अप्ठ्यारो स्थितिमा पुगेको प्रति चिन्ता व्यक्त गर्दै हिन्द–प्रशान्त रणनीति, एमसीसी र एसपीपीसँगै देशलाई नाटोसँग संलग्न बनाउँदै युद्धमा फसाउने खतरा औँल्याए।

“संरा अमेरिकाले आफ्नो निजी सेना खडा गरिरहेको छ । नेपाली सेना (गोर्खाली सेना) युद्धमा मरे क्षतिपूर्ति नदिने अमेरिकी सरकारको नीति हो । हिन्दुस्तान या बेलायत जुन देशले नेपाली युवा प्रयोग गरे ती युद्धमा फसे भने नेपाली युवा नै फस्नेछन्,” उनले भने।

नेपाली युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी एक प्रकारको दलाल हो । यस विषयमा शासक पार्टीहरूले कहिल्यै बोलेनन् । त्यसकारण, आजसम्म जो जो सरकारमा गए तिनले नेपालका छोराछोरीलाई दासजस्तै बेचेका हुन्, अध्यक्ष बिजुक्छेँले स्पष्ट पारे।

उनले भने, “ठूला पार्टीले पार्टी कार्यकर्तालाई गल्ती गर्ने छुट दियो । गलत मुद्दा या अपराधलाई क्षमा दिनु हुँदैन; कारबाही हुनुपर्छ । पार्टी अनुशासन त्यही हो । नेमकिपा अपराधी छुटाउँदैन; कार्यकर्तालाई सिद्धान्त, अनुशासन र व्यवहार सिकाउँछ । देश र जनताको निम्ति नैतिकरूपले तयार गर्छ ।”

“देश र जनताको सेवा र हित नै नेमकिपाको उद्देश्य हो । कार्यकर्तालाई व्यक्तिगतरूपमा नोक्सानमात्रै हुन्छ भन्ने मनमा लिएर काम गर्नुपर्छ”, अध्यक्ष रोहितले भने।

“नेपालमा आफूलाई कम्युनिस्ट भन्ने दलहरू वास्तवमा कम्युनिस्ट सिद्धान्त र आचरण मान्दैनन् । एमाले, माओवादी कम्युनिस्ट हो भने काङ्ग्रेस, राप्रपाभन्दा सङ्लो हुनुपर्छ । तर, तिनको चरित्र उस्तै छ, अध्यक्ष रोहितले स्पष्ट पार्दैै भने।

उनले भने, “उनीहरू कम्युनिस्ट सिद्धान्तअनुसार काम गर्दैनन्, पुँजीपतिवर्गको सेवा गर्छन् । चुनाव जित्नको निम्ति कम्युनिस्ट नाम बोकेका हुन् ।” अहिले देशको अर्थतन्त्र सीमित पुँजीपतिवर्गको हातमा छ । सम्पूर्ण ठूल्ठूला बैङ्कहरूमा भारतीय पुँजीपतिहरूको लगानी छ । भारतले देशको कच्चा वस्तु सस्तोमा लिने र हामीलाई पुनः महँगोमा बेच्ने काम गरिरहेको छ । अन्य दक्षिण एसियाली देशसँग व्यापारका लागि पारवहन अधिकार दिएको छैन । सम्पूर्ण अर्थतन्त्र भारतीय एकाधिकार पुँजीको पकडमा छ भन्दा अतिशयोक्ति हुँदैन । उत्पादनका साधनहरू पुँजीपतिको हातमा छ । तिनले नाफाको निम्ति काम गर्छ । नाफा शोषणकै उपज हो । यसको ठीकविपरीत समाजवादी अर्थव्यवस्थामा उत्पादनका साधनहरू सामाजिकीकरण गरिन्छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला र व्यक्तित्व विकासमा समान अवसर मिल्छ । क्युवा शिक्षा–स्वास्थ्य क्षेत्रमा निकै अगाडि छ । क्रान्तिपछि अमेरिकाले क्युवालाई डाक्टर पठाएन । त्यसपछि नेता फिडेल क्यास्ट्रोले देशमै डक्टर उत्पादन गरे । आज विश्वमा ५ हजार क्युवाली डाक्टर स्वयम्सेवकको रूपमा परिचालित छन्, उनले भने।

“संसद्मा विश्वविद्यालयको माग गर्ने नेमकिपा पहिलो थियो । अहिलेसम्म ख्वप विश्वविद्यालय दिएको छैन । विश्वविद्यालय दियो भने हामी मेडिकल कलेज सञ्चालन गर्न सक्छौँ । देश र जनताको हितमा काम गर्छौँ”, अध्यक्ष बिजुक्छेँले भने।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपा मजदुर किसानको हितमा निरन्तर सङ्घर्षरत छ भने।

नेमकिपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले नेपालमा महिलाहरूको स्थिति र नेपालको कामदार वर्गीय महिला आन्दोलनबारे सङ्क्षिप्त चर्चा गरे। शालिग्राम राउतको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्याम नेपालीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *