न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ साउन
नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय समितिको आयोजनामा शुक्रबार रुसविरुद्ध अमेरिकी छद्म युद्ध ‘युक्रेनमा नवनजीवाद’ पुस्तकको सार्वजनिकीकरण गरेको छ ।
प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजु्रक्छेँले विमोचन गरेको उक्त पुस्तक नेक्राकिसंघबाट प्रकाशन गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजुक्छेले धेरै खर्च गरेर कलकारखाना, उद्योग, हतियार, भौतिक पूर्वाधार जस्ता क्षेत्रको विकास गरेको युक्रेनले रुसको गुणलाई बुझ्न नसक्नु दुःखको कुरा बताएको छ । रुसले युक्रेनलाई बनाउने तर युक्रेनले अमेरिकालाई सुम्पने विश्वासघाटी कार्यले युक्रेन–रुस युद्धको अवस्थामा पुगेको सन्दर्भ कोट्याउँदै नेपाली राजनीतिमा एमाले, माओवादी र नेपाली कांग्रेसले नेपाललाई पाइला पाइला गरेर हिन्दुस्तानमा सुम्पने कार्य भइरहेको बताए ।
सोभियत रुसको समाजवादभन्दा राष्ट्रिय समाजवादतर्फ धकेलिनु नाजीवाद भएको तर्क राख्दै उनले नयाँ हिटलरको मान्छे बन्नु नवनाजीवाद रहेको बताए । पुस्तकको सबैले अध्ययन गरी पार्टीको विचार बुझ्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सृजना सैजू, पत्रकार समाजका उपाध्यक्ष उद्धव सुजखू, स्रस्ता नेपालका अध्यक्ष लक्ष्मणराज जोशी, नेक्राकिसंघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल, हरेराम सुवाल, मानव अध्येता योगेन्द्रमान विजुक्छेँ, नेक्राविसंघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, उपाध्यक्ष सुरेश परियारलगायतले पुस्तकमाथि परिचर्चा गरेको थियो ।