भक्तपुर बचतको २५औं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ असोज

निस्वार्थ रुपमा काम गर्नु सहकारीको प्रमुख उद्देश्य


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारणसभा संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुृक्छेँले कार्यक्रमको उद्घाटन गर्दै सहकारीको अवधारणा नै कृषि क्षेत्रबाट आएको स्मरण गरे । उनले निस्वार्थ रुपमा जनताको सेवा गर्नु नै सहकारीको प्रमुख उद्देश्य भएको स्पष्ट पार्दै कृषि क्षेत्रका लागि काम नगर्ने सहकारी नक्कली भएको बताए ।

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको संरक्षकत्वमा भक्तपुर आदर निकेतनको सञ्चालनको निर्णय हुनु सराहनीय रहेको उनको धारणा छ । उनले भक्तपुरको सहकारी अन्य जिल्लाका लागि नमूनाको रुपमा काम गर्नुपर्ने औंल्याए । साथै देशको आर्थिक अवस्थालाई २०/३० जना ठूला व्यक्तिले हल्लाइरहेको स्पष्ट पार्दै मजदुर र किसानलगायत व्यापक जनताले देश बनाउने धारणा राखे । सरकारले नगरेको काम सहकारीले गरी देखाउनुपर्ने उनको भनाइ छ । संकटमा भक्तपुरबाट सिक्न आउने विभिन्न जिल्लाका लागि उदाहरणीय बन्न सुझाव दिँदै उनले हाम्रो कला र संस्कृति हामी आफै बनाउनुपर्ने औंल्याए । सहकारी संस्था नै एउटा विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने बताउँदै उनले समाजका लागि आवश्यक क्षमतावान व्यक्ति सहकारीबाटै तयार गर्नुपर्ने औंल्याए ।

संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालकाे लेखन र प्रेम प्रजापतिकाे संगीतमा सहकारी गीत प्रस्तुत भएकाे उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७८/०७९ का लागि भक्तपुर बचत भक्तपुर जिल्लाकै सर्वोत्कृष्ट घोषणा भएकोमा बधाई दिँदै अन्य सहकारीका लागि भक्तपुर बचत प्रेरणादायी बनेको स्पष्ट पारे ।

संस्थाका सल्लाहकार विष्णु गोपाल कुसीले शिक्षामूलक, सेवामूलक, चेतनामूलक तथा सिपमूलक कार्य गरिरहेको भक्तपुर बचतले सदैव उदाहरणीय कार्य गरिरहेको स्पष्ट पारे । सामाजिक, सांस्कृतिक, आर्थिक, पत्रकारितालगायतका विभिन्न क्षेत्रमा सेवा गरेका विविध व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष बेला बादनका गुरु आशाकाजी खोंजू, विभिन्न समयमा पानी खुवाई सेवा गर्नुहुने लतंभक्त प्रजापति र ४५ वर्षदेखि निरन्तर स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मी मैया प्रजापतिलाई प्रमुख अतिथिबाट दोसल्ला र कदरपत्रबाट सम्मान गरेको छ ।

उक्त कार्यक्रममा आ.व. २०७८/२०७९ मा संस्थाका तीन सय चार जना असल ऋणी घोषणा गरी ऋणमा एक प्रतिशत छूट प्रदान गरेको छ ।
कार्यक्रममा सचिव लक्ष्मी प्रसाद कुसीको सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद प्रजापतिको आ.व. २०७८/०७९ को वित्तीय विवरण तथा २०७९/०८० को अनुमानित वार्षिक बजेट, संयोजक कृष्णसुन्दर प्रजापतिको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षक अच्युट पाण्डे एण्ड एसोसियटको लेखा परीक्षकको प्रतिवेदन, निर्वाचन निर्देशिकाको तीन महलीय संशोधन, आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, आ.व. २०७८/०७९ का लागि शेयर लाभांशलगायतका प्रस्ताव बन्दसत्रको सभाबाट पारित भएको छ ।

बन्दसत्रको सभामा सल्लाहकार कृष्णप्रसाद धन्छा, रत्नप्रसाद प्रजापति, ज्ञानसागर प्रजापति, बलराम प्रजापति, निर्मल प्रजापति, विष्णुकुमार प्रजापति, लक्ष्मी प्रसाद कुसी, रामप्रसाद प्रजापति, कृष्णसुन्दर प्रजापति, सत्यनारायण प्रजापति, जगनाथ प्रजापति, रामेश्वरी कोजू, सविन्द्र प्रजापति, रविन्द्र प्रसाद कुसीलगायतले सहकारीका प्रस्तावउपर छलफल भएको थियो । कार्यक्रमका बीच बीचमा संस्थाबाट प्रशिक्षित बेला, मादल, बाँसुरीका प्रशिक्षार्थीहरूबाट सांगेतिक धुन प्रस्तुत गरेकाे थियाे ।

सभाले यही श्रावण १० गते जिल्ला प्रसाशन कार्यालय भक्तपुरमा लक्ष्मी प्रसाद कुसीको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारी रहने गरी वैधानिक रुपमा दर्ता सम्पन्न भएको भक्तपुर आदर निकेतन संस्थाको स्थापना दिवसको अवसरमा कात्तिक १९ गतेदेखि सञ्चालनमा ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *