देशघाती एमसीसी खारेज गर भन्दै सम्झौताको विरोधमा देशभर जुलस तथा सभा

राजनीति विशेष समाचार समाचार

न्यूज  अपडेट संवाददाता

भक्तपुर, २४ भदाै

देशको सार्वभौमिकताविरुद्ध रहेको राष्ट्रघाती एमसीसी सम्झौता र परियोजनाको विरोधमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुरको आयोजनामा बुधबार विरोध जुलुस तथा कोणसभा सम्पन्न भयो ।

हजारौँ युवा–विद्यार्थी र जनताको सहभागिता रहेको जुलुस कमलविनायक चोकबाट सुरु भई च्याम्हासिंह, सूर्यमढी, दत्तात्रय, गोलमढी, सुकुलढोका, टौमढी, राममन्दिर हुँदै सूर्यविनायक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

जुलुसमा देशघाती एमसीसी सम्झौता – खारेज गर, एमसीसीका मतियारहरू –होशियार, वैदेशिक हस्तक्षेप –बन्द गर, जलविद्युत् माफियाहरू होशियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एसियालाई युद्धभूमि बनाउन दिँदैनौँ, सम्पूर्ण देशभक्त जनता एक होऔँ, जयसिंहका हत्याराहरूलाई कारबाही गर, भारतीय विस्तारवाद मुर्दावाद, नेपाल मजदुर किसान पार्टी जिन्दावाद आदि नाराका लगाइएका थिए ।

कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले देशको सार्वभौमिकताविरुद्ध रहेको एमसीसी सम्झौता संसद्बाट पारित गरेमा वर्तमान सरकार र गठबन्धनमा रहेका पार्टीहरू जनतासामु राष्ट्रघातीका रूपमा नाङ्गिने बताए ।

परियोजनाको सुरक्षा या कुनै पनि बहानामा अमेरिकी सेना नेपालमा आउने र बस्ने प्रावधानलाई नेपाली जनताले स्वीकार नगर्ने बताउँदै उहाँले सम्झौता पारित भएपछि अमेरिकी सेना नेपाल आउने, छिमेकी समाजवादी देश चीनविरुद्धका गतिविधिलाई तीव्र बनाउने र नेपाललाई युद्धभूमि बनाउन सक्ने खतरा रहेको बताए ।

केन्द्रीय सदस्य उकेश कवांले अमेरिकी सेना जुन–जुन देशमा प्रवेश गरेका छन्, त्यो–त्यो देशमा आतङ्क मच्चाएको र युद्ध भई ध्वस्त भएको उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिए । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले काठमाडौँमा देशघाती एमसीसीको विरोधमा उत्रेका युवा–विद्यार्थी कार्यकर्ताहरूमाथि प्रहरी प्रशासनले गरेको दमनको भर्त्सना गरे । देशको सार्वभौमिकता रक्षाको लागि देशभक्त प्रहरी पनि लाग्नुपर्ने उल्लेख गर्दै उनले देशभक्त आन्दोलनकारीलाई दबाउने होइन, आन्दोलनमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले एमसीसी सम्झौता र परियोजनाको नाममा शासक दलहरूले देशलाई साम्राज्यवादको युद्धभूमि र नेपाली जनतालाई विदेशीको दास बनाउन खोजेको बताए। नेपाल इतिहासमा अहिलेसम्म कहिले पनि कुनै देश र साम्राज्यको उपनिवेश नबनेको र भविष्यमा पनि बन्न नदिन सम्पूर्ण देशभक्त जनतालाई एमसीसी सम्झौताको विरोधमा आन्दोलित हुन उहाँले आह्वान गरे ।

नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका रमेश वैद्यले पनि जनभावनाविपरीत एमसीसी सम्झौता गर्ने र संसद्बाट पारित गर्ने पार्टीहरूलाई जनताले सजाय गर्ने बताए। जुलुस सुरु हुनुअगाडि कमलविनायक चोकमा भएको कोणसभामा नेक्रायुसङ्घका श्यामकृष्ण खत्री, गोपालसुन्दर गोसाई र नेक्राविसङ्घका किरण गोसाईले पनि एमसीसीको खारेजीको माग गरेको थियो ।

कालीकोटमा जनसभा
नेपाल मजदुर किसान पार्टी १० औँ कालीकोट जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा एमसीसीको विरोधमा बुधबार जनसभा भएकाे छ ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले देशघाती एमसीसीको विरुद्धमा सोमबार काठमाडौँमा भएको पार्टीका जनवर्गीय सङ्गठनहरूको शान्तिपूर्ण रयालीमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको बताए । उनले भने, “पुँजीवादी पार्टीहरूको मिलेमतोमा संसद्बाट एमसीसी पारित गर्ने खतरा भएकोले एमसीसीको विरुद्ध जनदबाब आवश्यक छ । एमसीसी पारित भए नेपाल साम्राज्यवादीहरूको खेल मैदान हुने खतरा छ ।”
आयोजक समितिका संयोजक एवम् पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले एमसीसीमार्फत प्राप्त हुने ५५ अर्बको सहयोगले देशको सार्वभौमिकता गुम्ने निश्चित रहेकाे बताए ।

“एमसीसी साम्राज्यवादीहरूको सैनिक गठबन्धनसित सम्बन्धित छ । चीनलाई चारैतिरबाट घेर्ने योजनाअनुसार संरा अमेरिकाले उक्त योजना नेपालमा थोप्न खोजिएको हो”, उनले स्पष्ट पारे । कार्यक्रममा खड्गराज शाही र धनञ्जय अधिकारीले पनि बोलेको थियो ।

काभ्रेमा एमसीसीको विरोधमा जुलुुस
नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा एमसीसी सम्झौताविरुद्ध जुलुस तथा सभा बुधबार भएकाे छ ।
बनेपा बसपार्कमा भएको जनसभामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले देश क्षेत्रफल र जनसङ्ख्याको हिसाबले सानो–ठूलो हुनसक्छ, हातहतियारको हिसाबले कमजोर हुनसक्छ तर सार्वभौमसत्ता कुनै पनि देशको सानो–ठूलो हुन नसक्ने बताए । उनले संयुक्त राष्ट्र सङ्घमा नेपालको जति अधिकार छ अमेरिकाको पनि त्यति नै अधिकार राख्ने बताए ।

नेपालको सार्वभौमिकतामाथि आँच पुग्ने गरी अमेरिकी साम्राज्यवादले एमसीसी सम्झौता थोप्न खोजेको चर्चा गर्दैै केन्द्रीय सदस्य ज्याख्वले भने, “नेपालको संसद्बाट एमसीसी अनुमोदन गर्ने उद्देश्यले एमसीसीका उपाध्यक्ष नेपाल आएका छन् । एमसीसी नेपालको हितमा छैन ।”

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले भदौ २१ गते काठमाडौँमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आयोजना गरेको शान्तिपूर्ण जुलुस तथा सभामा देउवा सरकारका प्रशासनले लाठी प्रहार गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएको हुँदा उक्त घटनाको निन्दा एवम् भर्त्सना  गरे।

नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले एमसीसी सम्झौताका बुँदाहरू देशघाती भएको बताए ।
बनेपा बसपार्कबाट सुरु भएको जुलुस तीनदोबाटो, लाय्कु, दक्षुटोल, भोलाखाटोल, तीनधारा, वकुटोल, चारदोबाटो हुँदै पुनः बसपार्कमा पुगेर जनसभामा परिणत भएको थियो । जनसभामा नेमकिपा काभ्रेका उपाध्यक्ष पुण्यशोभा श्रेष्ठ, भोला खरेल, मुना तामाङलगायतले एमसीसी सम्झौता नेपालको सार्वभौमिकताविरुद्ध भएको बताएको थियो ।

तारकेश्वरमा एमसीसीको विरोधमा रयाली
त्यस्तै नेमकिपा तारकेश्वर नगर समितिको आयोजनामा एमसीसीको विरोधमा ¥यालीसहित कोणसभा बुधबार भएकाे छ ।
सभामा पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी देश हितविपरीत भएकोले विरोध गर्नुपर्ने बाध्यता रहेको बताए ।
“एमसीसी पारित गर्न खोज्ने नेताहरू विदेशीको दलाल प्रमाणित हुनेछ”, उनले भने ।

सभामा नेक्रायुसङ्घ काठमाडौँका सचिव रामलाल महर्जन, आयोजक समितिका अध्यक्ष श्यामकुमार महर्जनलगायतले एमसीसीको विरोधमा बोल्दै जनतालाई सचेत पारेको थियो ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *