मंकीपक्स संक्रमणबारे सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ९ जेठ

Image Not Found

सरकारले मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ ।

अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने पनि बताए ।

सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । उनले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताए ।

सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरेका छन् ।

मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि उनले बताए । उनले  मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए ।

मंकीपक्स लागेको  तीनदेखि चार हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि उनले बताए । उनका अनुसार मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको छ ।

मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा सर्ने भाइरस हो । प्रायः मुसा तथा बाँदर प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ ।

ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्‍याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका ७ ओटा देशमा ३० जनाभन्दा धेरै मानिसहरुमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मलपक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *