हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २१ बैशाख

सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी देशभर सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो निर्णयसँगै सरकारी कार्यालयहरु दुई दिन बन्द हुने निश्चित भइसकेको छ।

तर सरकारी अस्पतालमा बहिरंग सेवा (ओपिडी) के हुन्छ? यो विषयमा भने अझै निर्णय भइसकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो विषयमा स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुसँग छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेको छ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।

‘सरकारले दुई दिन बिदा दिने निर्णय गरेपछि अस्पतालको सेवा तथा ओपिडी लगायतका विषयमा मन्त्रालयमा धेरै जिज्ञासा आइरहेको छ’, उनले भने, ‘प्रशासनिक सेवाभन्दा अस्पतालको सेवा फरक भएकाले यो विषयमा ट्रेड यूनियनका प्रतिनिधि र अस्पतालका प्रमुखहरुसँग छलफल गरेर मात्र अगाडि बढ्ने कुरा भएको छ।’ उनले यही साताभित्र छलफल गरेर निर्णय लिने तयारी भएको जानकारी दिए।

दुई दिन बिदाको निर्णय चिकित्सक संघद्वारा स्वागत
शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने नेपाल चिकित्सक संघले स्वागत गरेको छ। संघका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन्।

‘हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ’, विज्ञप्तिमा उल्लेख छ।

थप सुविधा र न्यायोचित प्रोत्साहन अनिवार्य: सरकारी चिकित्सक संघ
आइतबार बिदा दिने निर्णयको विषयमा सरकारी चिकित्सक संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले आइतबार बिदा दिने निर्णय स्वास्थ्य क्षेत्रमा लागू नगरिने भन्ने विषयमा ध्यानाकर्षण गरेको छ।

संघले विज्ञप्ति जारी गर्दै आइतबार ओपिडी तथा अस्पतालहरु खुल्ने हो भने वेशष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिनूपर्ने माग गरेको छ।

‘सरकारले जेठ ०१ गतेदेखि लागू हुने गरी आइतबार समेत सार्वजनिक विदा दिने निर्णय गरेको तर सो निर्णय स्वास्थ्य क्षेत्रमा लागू नगरिने भन्ने प्रति यस संघको ध्यानाकर्षण भएको छ। एउटै प्रवेश विन्दु र एउटै ऐनका कर्मचारीहरू बीच फरक-फरक व्यवहार हुनु न्यायसंगत हुन सक्दैन,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि स्वास्थ्यलाई विशेष क्षेत्र मान्ने हो भने स्वास्थ्यको कर्मचारीलाई खालि कार्य बोझ मात्र बढि नभई विशेष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिन अनिवार्य हुन्छ।’

स्वास्थ्यमा आइतबार यदि विदा नपाउने हो भने अन्य सेवाका कर्मचारीको तुलनामा वर्षको ५२ दिन अधिक थप कार्यभार हुन आउनेछ र यसको व्यवस्थापन अपरिहार्य रहेकोमा संघले जोड दिएको छ।

‘विना कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन विनाको उपरोक्त निर्णयमा हाम्रो कुनै समर्थन नरहने भन्दै सो तत्काल व्यवस्थित गर्न सरकार समक्ष अनुरोध गर्दछौँ,’ संघले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *